हिमालय एयरलाइन्सद्वारा चीनको खुन्मिङमा नियमित हवाई सेवा सुरु
2022-06-02 17:33:39cri
Share with:

चीनले नेपालसँग नियमित हवाई सेवा सुचारु गरेको छ। चीनले लकडाउनअघि बन्द गरेको हवाई सेवा जेठ १७ बाट सुचारु गरेको हो। चीनबाट हिमालयन एयरलाइन्स र एयर चाइनाले नियमित उडान सुरु गरेका काठमाडौँ पाटी अनलाइनले लेखेको छ।

बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख कौशलकिशोर रायले चीन नियमित हवाई सेवा सुचारु गर्न तयार भएको जानकारी दिनुभयो। उहाँले हिमालयन एयरलाइन्सको सुरु भइसकेको र एयर चाइनाको आगामी आइतबारबाट नियमित फलाइट सुरु हुने बताउनुभयो।

हिमालयन एयरलाइन्सले चीनको खुन्मिङबाट मंगलवारदेखि नियमित हवाई उडान सुरु गरेको हो। अबदेखि उक्त एयरलाइन्सले प्रत्येक हप्ताको मंगलवार नियमित उडान भर्नेछ। यसअघि हिमालयले चार्टड फलाइट गर्दै आएको थियो।

एयर चाइनाले समेत चीनको छेन्दुबाट काठमाण्डु उडान भर्ने तयारी गरेको छ। एयर चाइनाले प्रत्येक हप्ताको आइतबार छेन्दु काठमाण्डौं उडान गर्ने तयारी गरेको हो। दुवै एयरलाइन्सको इकनोमिक क्लासको टिकट २१ सय ३० डलर तोकिएको छ। त्यसका साथै ६ सय डलर क्वारेन्टाइन शुल्क समेत यात्रुले तिनुपर्नेछ।

चीन आउनुअघि नेपालकै होटेलमा ५ दिन क्वारेन्टाइन बस्नुपर्ने नियम चीनले बनाएको छ। त्यसका साथै चीन गएर समेत १४ दिन क्वारेन्टाइन बस्नुपर्ने नियम छ।

कोरोना भाइरसको महामारी सुरु भएपछी २०७७ पुसमा चीनबाट व्यवसायिक उडान रोकिएको थियो। चिनियाँ विदेशमन्त्री वाङ यीको मार्च २५ देखी २७ सम्म भएको नेपाल भ्रमणका बेला जारी भएको संयुक्त बक्तव्यमा चीन र नेपालबीच सिधा हवाई यातायात सुचारु गर्ने सहमति समेत भएको थियो।

संयुक्त वक्तव्यमै जारी भएको सहमति तीन महिनापछी चीनले पालना गरेको हो। चीनले यही सेप्टेम्बरबाट चीनमा मेडिकल अध्ययन गरिरहेका विद्यार्थीहरुलाई समेत फिर्ता लिने तयारी गरिरहेको छ। त्यसका लागि नेपाल सरकारसंग छलफल भइरहेको स्रोतले जनाएको छ।