नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा आन्तरिक उडान अनुमतिमा कडाइ
2022-06-03 16:38:37cri
Share with:

मौसम सफा नभई आन्तरिक उडानलाई अनुमति नदिने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय काडाइसाथ लागू भएको छ। प्रविधिको प्रयोग नगरी आँखाले हेर्दै उडान गर्नुपर्ने क्षेत्रहरू भरतपुर, लुक्ला, सुर्खेत र पोखराको उडानमा यो व्यवस्था कडाइसाथ पालना गराइएको गोरखापत्र अनलाइनले लेखेको छ।

मौसमकै कारण जेठ १५ गते तारा एयरको जहाज दुर्घटनामा परेपछि पुनः त्यस्ता घटना दोहोरिन नदिन प्राधिकरणले यो व्यवस्था गरेको हो। वायु सेवाहरूले बुधबार विमानस्थलस्थित मौसम तथा हवाई मौसम पूर्वानुमान शाखाले उपलब्ध गराएको मौसमसम्बन्धी प्रतिवेदनका आधारमा अनुमति लिएर उडान गरे। प्राधिकरणका अनुसार २१ वटा विमान तथा हेलिकप्टर कम्पनीले मौसम तथा हवाई पूर्वानुमान शाखाबाट रिपोर्ट लिएर उडान भरेका हुन्।

ती क्षेत्रमा उडान भर्दा बाटोको मौसमसहित उडान सुरु भएदेखि अवतरण हुने स्थानसम्मको मौसम सफा भएपछि मात्रै उडान अनुमति पाइनेछ। प्रविधि जडान भएको विमान र विमानस्थलबाट भने इनरुट मौसम सफा नभए पनि उडान अनुमति पाउनेछ। नयाँ व्यवस्थाअघि विमान उड्ने र अवतरण हुने विमानस्थलको मौसमका आधारमा उडान हुँदै आएको थियो।

उडान सुरक्षालाई ध्यानमा राख्दै कडिकडाउ गरिएसँगै प्राधिकरणले मौसम पूर्वानुमान शाखालाई हवाई कम्पनीले मागेकै समयमा मौसमसम्बन्धी जानकारी उपलब्ध गराउन मौखिक निर्देशन दिएको छ। प्राधिकरणको पछिल्लो निर्देशनअनुसार बुधबार काठमाडौँबाट लुक्ला, सुर्खेत, ताप्लेजुङ, मनाङ, पोखरा, तुम्लिङटारका लागि उडान भरेका तारा एयर, समिट एयर, मनाङ एयर, प्रभु हेलिकप्टर, एभरेस्ट हेलिकप्टर, कैलाश हेलिकप्टर, श्री एयरलाइन्स, अल्टिच्युड एयरलाइन्स, फिस्टेल एयर, सिम्रिक, बुद्ध एयर, यती एयरलाइन्स, गुण एयरलाइन्स र नेपाल वायुसेवा निगमले उडानपूर्व इनरुटसहितको मौसमी जानकारी लिएर उडान भरेको मौसम पूर्वानुमान शाखाले जनाएको छ। निजी हवाई सेवा कम्पनीहरूले पछिल्लो निर्णय दुर्घटना न्यूनीकरणका लागि अति आवश्यक र अपरिहार्य रहेको जनाउँदै नियम कडाइसाथ लागू गर्नुपर्नेमा जोड दिएका छन्।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले प्राधिकरणको निर्णय स्वागतयोग्य रहेको जनाउँदै समयमै मौसमसम्बन्धी जानकारी पाए यात्रुलाई समेत त्यहीअनुसार जानकारी गराउन सहज हुने बताउनुभयो। उहाँले केही क्षेत्रमा भने आफ्नै मौसम सूचना प्रणाली रहेको बताउनुभयो। बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले पनि कम्पनीको आफ्नै जापानी प्रविधिमा आधारित मौसमी राडारमा पहुँच रहेकाले त्यससम्बन्धी जानकारी लिएर मात्र उडान भर्ने गरेको बताउनुभयो।

विमानस्थलस्थित जल तथा मौसम पूर्वानुमान महाशाखाले भने आफ्नै सेटेलाइटमा पहुँच भएका कारण इनरुटको मौसम ठ्याक्कै यस्तो छ भन्न अप्ठेरो हुने जनाएको छ। हवाई कम्पनीले मौसमसम्बन्धी जानकारी लिएलगत्तै उडान भरे पनि भौगोलिक अवस्थाका कारण उडान भरेको १० मिनेटमै मौसम परिवर्तन हुने गरेको शाखाले जनाएको छ।

हवाई उडानका लागि आगामी तीन दिनको मौसमी पूर्वानुमान, भिजिबिलिटी, सम्भावित वर्षा, चट्याङ, हावाहुरीको बेगलगायतका सूचनाको पूर्वानुमान गर्दै आएको शाखाले दक्ष जनशक्तिको अभाव, पूर्वाधारको विकास र नवीन प्रविधिको उच्चतम प्रयोगबाट मात्रै यकिन वस्तुस्थिति उपलब्ध गराउन सकिने जनाएको छ।