पाँच महिनामा झण्डै दुई लाख पर्यटक नेपाल भित्रिए
2022-06-03 16:34:57cri
Share with:

नेपालमा वसन्त ऋतुको पर्वतारोहण सिजन सकिएसँगै पर्यटक आगमन घट्न थालेको छ। मे २०२२ मा अघिल्लो महिना (अप्रिल) को तुलनामा कम पर्यटक भित्रिएको अध्यागमन विभागको तथ्यांकमा देखिएको छ।

विभागका अनुसार मे महिनामा ५३ हजार ६०८ जना पर्यटक नेपाल आए। यो अघिल्लो महिनाको तुलनामा ४ हजार ७७६ जना कम हो। अप्रिल महिनामा ५८ हजार ३८४ जना पर्यटक नेपाल आएका थिए। अघिल्लो महिना आरोहणमा आउने पर्वतारोहीका कारण संख्यामा उल्लेख्य वृद्धि भएको अनलाइन खबरले लेखेको छ। यो संख्या वर्षायाम सुरु हुन थालेसँगै काम भएको हो। नेपालमा मनसुन सिजनमा पर्यटक आगमन सामान्य अवस्थामा समेत कम हुने गरेको छ।

विभागको तथ्यांक अनुसार सन् २०२२ को पहिलो ५ महिनामा १ लाख ९० हजार ७३९ जना पर्यटक नेपाल आएका छन्। कोभिड–१९ को समयमा झण्डै शून्यमा झरेको पर्यटक आगमन अहिले भने सुधारोन्मुख अवस्थामा छ।

अध्यागमन विभागको तथ्यांक अनुसार एक महिना (मे २०२२) मा भारतबाट मात्र २६ हजार ६६२ जना पर्यटक नेपाल आएका छन्। यो हवाई मार्ग प्रयोग गरेर आउने भारतीयको मात्र संख्या हो। सरकारले स्थलगत रुपमा आउने भारतीय नागरिकलाई पर्यटक मान्दैन।

दोस्रो स्थानमा अमेरिकी नागरिकको संख्या धेरै छ। मे महिनामा अमेरिकाबाट मात्र ७ हजार २७४ जना पर्यटक नेपाल आएको देखिएको छ। तेस्रो स्थानमा बंगलादेश रहेको छ। यस मुलुकबाट ३ हजार २६८ जना नागरिक मे महिनामा नेपाल आएका छन्। बेलायतबाट २ हजार ४५१ जना पर्यटक नेपाल आएका छन्।

कोरोना महामारी अगाडि चीन पर्यटन स्रोत बजारका हिसावले दोस्रो स्थानमा थियो। तर, चीनले आफ्ना नागरिकलाई भ्रमण खुला नगरेका कारण चीनबाट आउने नागरिकको संख्या अझै बढ्न सकेको छैन। मे महिनामा चीनबाट ३ सय ८८ जना नेपाल आएका छन्। उनीहरु कूटनीतिक नियोगमा काम गर्ने कर्मचारी तथा नेपालमा सञ्चालित आयोजनामा काम गर्ने चिनियाँ कामदार मात्र हुन्।

अध्यागमन विभागको तथ्यांक अनुसार एक महिनामा नेपाल आएका ५३ हजार ६०८ जना नागरिकहरु संसारभरका १६९ वटा मुलुकका नागरिक हुन्। यो सूचीमा युद्धरत मुलुक युक्रेनबाट ७१ र रसियाबाट ४८८ जना नागरिक नेपालको भ्रमणमा आएको देखिएको छ। एक महिनाको अवधिमा नेपालबाट ६१ हजार ३५० जना विदेशी नागरिकले देश छाडेका छन्।

विभागका अनुसार मे महिनामा विभिन्न मुलुकमा रहेका ७४ हजार ६९ जना नेपाली नागरिक स्वदेश फर्किएका छन्। यसै अवधिमा १ लाख १३ हजार ७१६ जना नेपालीले भने स्वदेश छाडेर विदेश उडेको अध्यागमन विभागले जनाएको छ।