मुगुमा यार्साबाट २५ लाख राजस्व संकलन
2022-06-05 17:03:50cri
Share with:

मुगुमा यार्साबाट २५ लाख रुपैयाँ राजस्व असुली भइसकेको मुगुमकार्मारोङ गाउँपालिकाले जनाएको छ। उक्त गाउँपालिकाको पाटन क्षेत्रमा यार्सा टिप्न जाने जिल्लाभित्रका स्थानीयलाई प्रतिव्यक्ति २ हजार र जिल्ला बाहिरबाट आएकालाई प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँका दरले राजस्व उठाउने गरिएको छ।

मुगुको सिरानचौरमा यार्सा संकलनकर्ताबाट २५ लाख राजस्व असुली भएको र अझै राजस्व टोलीले पाटन क्षेत्रमै पुगेर यार्सा टिप्ने व्यक्तिबाट राजस्व असुल गरिरहेको गाउँपालिकाका लेखा अधिकृत जनराज शाहीले बताउनुभएको छ।

अवैध बाटो प्रयोग गरेर यार्सा संकलक पाटन क्षेत्रमा पहिले नै प्रवेश गरिसकेको हुँदा यो पटक कम राजस्व असुली हुने अनुमान गरिएको उहाँको भनाइ छ। विगतका वर्षहरु कम्तीमा ५ देखि ६ हजार यार्सा संकलकबाट राजस्व असुली हुने गरेकोमा यस पटक स्थानीय तह निर्वाचनले गर्दा कम मात्रमा यार्सा टिप्न गएकोले राजस्व पनि कम उठ्ने भएको अधिकृत शाहीले बताउनुभयो। उहाँका अनुसार गाउँपालिकाले सुरक्षासहित पाटन क्षेत्रमा राजस्व संकलन टोली खटाएको छ।

कोरोना महामारीका कारण विगत तीन वर्षयता मुगुमकार्मारोङ गाउँपालिकाले यार्साको राजस्व उठाउन नपाएको कान्तिपुर दैनिकले लेखेको छ।