दैनिक ५ करोडको बिजुली भारत जाँदै, बिक्रीदर युनिटको १९ रुपैयाँसम्म
2022-06-06 16:21:10CRI
Share with:

वर्षायाम लागेसँगै नेपालबाट दैनिक ५ करोडससम्मको बिजुली  भारतमा निर्यात हुन थालेको छ । कालीगण्डकी ए जलविद्युत् आयोजनाको पनि विद्युत निर्यात सुरु भएपछि प्राधिकरणले दैनिक ठूलो परिमाणमा बिजुली निर्यात गर्न थालेको हो । सोमबार नेपालले भारतमा ४२ लाख २७ हजार १०० युनिट निर्यात गर्ने भएको छ । प्राधिकरणले भोलि १७६ मेगावाटसम्म बिजुली निर्यात गर्नेछ।

 

कालीगण्डकी ए जलविद्युत आयोजनाबाट दिनमा १३८.८३ मेगावाट, देवीघाट जलविद्ययुत केन्द्रबाट १४.३१ मेगावाट, त्रिशुली जलविद्युत आयोजनाबाट २३.४ मेगावाट बिजुली निर्यात हुनेछ। सोमबारका लागि भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा नेपालको बिजुलीले प्रतियुनिट अधिकतम् १२ भारु अर्थात् १९.२ रुपैयाँसम्म मूल्य पाएको प्राधिकरणले जनाएको छ । न्युनतम् ४.७८ पैसामा पनि बिजुली निर्यात हुनेछ । औसतमा प्रतियुनिट १२.८४ नेपाली रुपैयाँमा निर्यात भइरहेको प्राधिकरणलो जनाएको छ ।

 

भारतको ऊर्जा एक्सचेन्ज बजारमा प्रत्येक १५ मिनेटको ९६ वटा ब्लकमा बिजुलीको मूल्य बोलकबोलमा बिक्री हुन्छ । भारत सरकारले ती ब्लकमा अधिकतम् भारु १२ रुपैयाँसम्ममा किनबेच गर्न पाउने व्यवस्था छ । प्रत्येक ब्लकमा माग र आपूर्तिको दर अनुसार मूल्य फरक-फरक तय हुन्छ। प्राधिकरणले रातको समयमा खपत हुन नसकेको बिजुली भारत पठाइरहेको हो । भारतमा रातको समयमा सोलार प्लान्टबाट बिजुली नआउने र गर्मी कारण पंखा र एसीको प्रयोगले माग उच्च हुने गरेको अनलाइनखबरले जनाएको छ

रातमा खरेर जाने बिजुली नै बेच्न सक्ने अवस्था रहेकाले प्राधिकरणले राम्रो मूल्य पाएको अधिकारीहरु बताउँछन् । सोमबार मात्रै नेपालबाट भारतमा ५ करोड १२ लाख ४१ हजार नेपाली रुपैयाँ (३ करोड २० लाख भारु)को बिजुली विक्री गर्नका लागि दर स्वीकृत भएको छ ।

 

भारतले अहिलेसम्म नेपाललाई ३६४ मेगावाटका आयोजनाका बिजुलीलाई भारत निर्यात गर्न अनुमति दिएको छ । मनसुन सुरु भएपछि नेपालले भारतबाट अनुमति पाएका सबै आयोजनाबाट बिजुली निर्यात गर्नेछ । यसअनुसार नेपालले वर्षयाममा दैनिक १० करोडभन्दा बढीको बिजुली बेच्न सक्ने देखिएको छ ।