उत्तर कोरियाको आणविक परीक्षणको तयारीबारे चीनको जवाफः ‘सम्बन्धित पक्षले मिलेर काम गर्नुपर्छ।’
2022-06-07 19:02:17CRI
Share with:

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महासचिवले ६ तारिख उत्तर कोरियाले आणविक परीक्षण गर्ने तयारी गरिरहेको संकेत पाएको बताउनुभएको छ। यस सम्बन्धमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले ७ तारिख नियमित पत्रकार सम्मेलनमा कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरता कायम राख्नु र प्रायद्वीपको आणविक निशस्त्रीकरणलाई साकार पार्नु सम्बन्धित पक्ष र अन्तर्राष्ट्रिय समुदायको साझा हितमा रहेको बताउनुभयो। सम्बन्धित पक्षहरूले कोरियाली प्रायद्वीपको समस्याको राजनीतिक समाधानलाई प्रवर्द्धन गर्न मिलेर काम गर्ने चीनको आशा रहेको प्रवक्ता चाउले बताउनुभयो।

 

यसका साथै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता प्राइसले ६ तारिख अमेरिकाले उत्तर कोरियासँग वार्ता र सम्पर्क खोजेको बताउँदै कुनै वार्ता वा सम्पर्क नहुनुमा अमेरिकामाथि रोप लगाइयो भने त्यो निराधार हुने बताउनुभयो।

 

यस सम्बन्धमा प्रवक्ता चाउले भन्नुभयो कि प्रायद्वीपको वर्तमान अवस्थाको मुख्य कारण अमेरिकाले सन् २०१८ मा उत्तर कोरियाद्वारा लिएका आणविक निशस्त्रीकरण उपायहरूबारे प्रतिक्रिया नदिएको र यसको वैध र व्यावहारिक चिन्ताहरूको ख्याल नगरेकोमा निहित छ। अमेरिकी पक्षले वार्ताका लागि खाली नारा लगाउनुभन्दा सद्भाव देखाउनुपर्छ र ठोस कदम चाल्नुपर्छ।