काठमाडौंभन्दा भैरहवाबाट कुवेत उड्न ८ सस्तो, जजिराले सातै दिन उडान थाल्ने
2022-06-07 16:04:08CRI
Share with:

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेत जाँदा आठ हजार रूपैयाँ सस्तो पर्ने भएको छ। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्दा भैरहवाबाट कुवेत जाँदा टिकटदर आठ हजार रूपैयाँ कम पर्ने विमानस्थलका प्रवक्ता श्यामकिशोर शाहले जानकारी दिनुभयो।

 

यहाँ जजिरा एयरवेजले यही महिनाबाट उडान सुरू गरेको हो। व्यावसायिक उडान गरिरहेको जजिराले विमानस्थल सेवाशुल्क छुट पाएको पनि शाहले बताउनुभयो। 'जजिराले एक वर्षसम्मका लागि विमानस्थलमा लाग्ने अवतरण, पार्किङ, सञ्चार तथा उड्डयन सहायता सेवा र सुरक्षा जाँचमा शुल्क छुट पाएको हो,' हाँले भन्नुभयो।

 

हाल जजिराले उडान गरिरहेको एयरबस ३२० निओ जहाजले सेवाशुल्क वापत करिब एक लाख रूपैयाँ छुट पाएको छ। यसअघि नागरिक उड्डयन प्राधिकरणले यो विमानस्थलमा उडान सुरू गर्ने कम्पनीलाई एक वर्षसम्म सेवाशुल्क छुट गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणलाई प्रस्ताव गरेको थियो। गौतम बुद्ध नयाँ विमानस्थल भएको र वायुसेवा कम्पनीहरूको आकर्षण बढाउन गरिएको यो प्रस्ताव जेठ ३ गते मन्त्रिस्तरीय निर्णयबाट पारित भएको थियो। योसँगै जेठ १४ गतेबाट यो निर्णय कार्यान्वयनमा आएको प्रवक्ता शाहले बताउनुभएको सेतोपाटी अनलाइनमा खबर छ। सेवाशुल्क छुट पाएसँगै जजिराको टिकट भाउ पनि कम भएको छ।

हाल जजिराले सोमबार, मंगलबार र शुक्रबार गरी सातामा तीन उडान गरिरहेको छ। जजिराको जहाज एक सय ७४ यात्रु क्षमता भएको हो। अहिले दैनिक एक सय ५० पचास जना भैरहवाबाट कुवेत उडिरहेका छन्। कुवेतबाट भैरहवा आउनेको संख्या सय जना हाराहारीमा छ। रोजगारका लागि गन्तव्य मुलुक जान काठमाडौं आउनुपर्ने बाध्यता हटेसँगै अहिले दैनिक दुई सय पचास यात्रुले आवतजावत गरिरहेको शाहले जानकारी दिनुभयो।

 

शाहका अनुसार कुवेतबाट भैरहवा आउनेभन्दा बाहिरिने यात्रु बढिरहेका छन्। जेठ २ गतेयता दुई हजार ४९ यात्रुले आवतजावत गरिसकेका छन्। यसमा एक हजार एक सय ३७ जना यात्रु भैरहवाबाट बाहिरिएका छन् भने एक हजार दुई सय ४० जना भित्रिएका छन्।

 

गौतम बुद्ध विमानस्थलबाट पहिलो व्यावसायिक उडान गरिरहेको जजिराले अब एक महिनाभित्र सातै दिन उडान थाल्ने एयरवेजका सञ्चालन प्रमुख संगीता रौनियारले बताउनुभयो। भैरहवाबाट अन्तर्राष्ट्रिय उडानका लागि करिब एक दर्जन वायुसेवा कम्पनीले पनि चासो देखाएका छन्। यसमा नेपाल एयरलाइन्स, एयर अरेबिया, श्रीलंकन, सलाम एयर, थाई स्माइल, कतार एयरवेज, फ्लाइ दुबइ, गल्फ एयर, गो एयर, एयर बिज, ओमन एयर, चिनियाँ एयरलाइन्स लगायत भएको शाहले जानकारी दिनुभयो।  यी एयरलाइन्समध्ये भैरहवामा दोस्रो व्यावसायिक उडान एयर अरेबियाले गर्ने सम्भावना छ। हाल एयर अरेबियाले उडानपूर्व गर्नुपर्ने तयारी गरिरहेको छ।