भारतबाट रासायनिक मल आउने सुनिश्चित
2022-06-08 15:36:54CRI
Share with:

कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले भारतबाट मल ल्याउनका लागि सुनिश्चित गराउनुभएको छ। भारत भ्रमणमा रहनुभएका कृषिमन्त्री यादवले सोमबार त्यहाँका रसायन एवं उर्वरक मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका स्वास्थ्य एवं परिवार कल्याणमन्त्री मनसुख एल. मण्डावियासँगको छलफलबाट सो सुनिश्चित गराउनुभएको हो ।

 

भारतसँग यसअघि नै जीटुजी (सकारदेखि सरकार) प्रणालीबाट नेपालले मल खरिद गर्ने भनी सम्झौता गरिसकेको छ। पाँच वर्षका लागि भएको सम्झौताअनुसार पहिलो वर्ष एक लाख ५० हजार मेट्रिक टन मल दिने सम्झौतामा उल्लेख छ । सम्झौता भए पनि भारतबाट मल आउनमा ढिलाइ भइरहेको थियो ।

 

देशमा मलको हाहाकार भइरहेका बेला भारतसँग मलका लागि नेपालले पटकपटक छलफल गरेको थियो तर सम्झौताअनुसार मल आइरहेको थिएन। मल आउन ढिलो भएका कारण समस्या बढ्दै गएपछि कृषिमन्त्री यादव मलको विषयमा कुरा गर्नका लागि आफैँ भारत जानुभयो। सोही क्रममा उहाँले रसायन एवं उर्वरकमन्त्री मण्डावियासँग छलफल गरेपछि मल आउन सुनिश्चित भएको हो। कृषिमन्त्री यादवले अबको एक/डेढ हप्ताभित्र भारतबाट मल आउन सुरु हुने बताउनुभयो।

 

गोरखापत्रका अनुसार  सुरुकै चरणमा एक लाख ५० हजार मेट्रिक टन मल पठाउन भनेपनि भारतले एकै पटक त्यति मल पठाउन नसकिने बताएको छ।

 

 भारतको भण्डारमा पर्याप्त मल छैन। टेन्डर गरिएको मल आइपुगेको छैन। भण्डारमा जे जति छ, तत्काल त्यसैबाट नेपाल पठाउने त्यहाँका मन्त्रीले प्रतिबद्धता जनाउनुभएको छ । भारतले मल पठाउन सुरु गरेपछि धानका लागि मलको अभाव नहुने आफूले विश्वास लिएको उहाँले बताउनुभयो ।

 

सम्भवतः यो महिनाभित्र ५० हजार मेट्रिक टन युरिया मल नेपाल आइपुग्ने आफूहरूले विश्वास लिएको भ्रमणमा रहनुभएका कृषिमन्त्री यादवको स्वकीय सचिव डा. दिनश यादवले बताउनुभयो । भारतले मल पठाउन सकारात्मक भएको छ, यो महिनाभित्र नै नेपाल मल जान सुरु हुने कुरामा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो ।

 

साथै, भारतका रसायन एवं उर्वरकमन्त्री मण्डावियाले नेपालमा खपत हुने सम्पूर्ण मल भारतले नै दिने प्रतिबद्धतासमेत जनाउनुभएको छ । नेपालमा लगभग पाँच लाख मेट्रिक टन मल खपत हुन्छ। भारतले आफूले उत्पादन गर्नुका साथै बाहिरबाट पनि आयात गर्ने गरेको छ । यदि नेपालले भारतसँग सबै मल खरिद गर्न तयार भयो भने त्यसका लागि पनि भारतले नै टेन्डर गरेर मलको व्यवस्था गरिदिने प्रतिबद्धता जनाएको उहाँले बताउनुभयो ।

 

साथै नेपालमा नानो युरिया झोल मलको कारखाना नेपालमा खोल्नका लागि भारत तयार रहेको पनि उहाँले बताउनुभयो।