नेपालमा पर्यटन र लगानीको क्षेत्रमा अवसर रहेको कूटनीतिक वृत्तको ठहर
2022-06-08 15:29:48CRI
Share with:

नेपाल र भारतका प्रधानमन्त्रीहरूको एक अर्का देशमा भएका पछिल्ला भ्रमणले दुई देशबीचको बहुआयामिक सम्बन्धमा महत्त्वपूर्ण सकारात्मक संकेत दिएको कूटनीतिक क्षेत्रका जानकार तथा सरकारी अधिकारीहरुले बताएका छन्। दिल्लीस्थित नेपाली दूतावासले मंगलबार भारतीय उद्योगी व्यवसायीको संस्था पीएचडी चेम्बरसँगको सहकार्यमा आयोजना गरेको इन्डियानेपाल पार्टनसिप सम्मलेनमा नेपाली राजदूत शंकरप्रसाद शर्माले उच्चस्तरीय भ्रमणपछि नेपालले भारतलाई बिजुली निर्यातको बाटो खोलेको बताउनुभयो। नेपालले यतिबेला भारतलाई १ सय ७७ मेगावाट बिजुली निर्यात थालिसकेको र निकट भविष्यमा त्यसको दोब्बर बिजुली निर्यात गर्ने उहाँले उल्लेख गर्नुभयो। प्रधामन्त्री शेरबहादुर देउवाको भारत भ्रमणपछि भारतले नेपाललाई ३ सय ६४ मेगावाट बिजुली खरिद गर्ने सुनिश्चितता दिइसकेको छ ।

 

भारतका उद्योगी व्यसायी, बैंकर्स, पूर्वकूटनीतिज्ञ, नेपाल मामिलाका जानकार तथा थिंकट्यांक मानिने व्यक्तिहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा राजदूत शर्माले कोभिडपछिको सहज वातावरणमा पर्यटक तथा लगानीका लागि नेपालमा प्रशस्तै सम्भावना र अवसर रहेकाले त्यसतर्फ ध्यानाकर्षण गराउनुभयो।

 

हाँले भारतसँग असन्तुलित व्यापार घाटालाई भारतीय पर्यटकको आगमन र नेपालबाट हुने बिजुली निर्यातले केही हदसम्म सन्तुलनमा ल्याउन सक्ने सम्भावना औंल्याउनुभयो। नेपालले लगानीकर्तालाई आकर्षित गर्न विशेष इकोनोमिक जोनको स्थापना र करसहित विभिन्न विषयमा छूटलगायतका अवसर प्रदान गरिरहेकाले भारतीय लगानीकर्ताले त्यसको लाभ उठाउनुपर्ने उहाँको भनाई थियो । नेपाल भारतबीच गहिरो र बलियो सम्बन्ध रहेको चर्चा गर्दै त्यसलाई टिकाइराख्न विभिन्न तहमा छलफल जारी रहनुपर्नेमा उहाँले जोड दिनुभयो

 

भारतीय विदेश मन्त्रालयका नेपाल र भुटान हेर्ने डेस्कका प्रमुख सहसचिव अनुराग श्रीवास्तवले भारतमा बिजुली निर्यात गर्ने नेपाल पहिलो देश भएको बताउनुभयो। उहाँले पनि दुई देशका प्रधानमन्त्रीको भ्रमण आदानप्रदानले सकारात्मक वातावरण र अवसर प्रदान गरेको बताउनुभयो। दुई देशबीच धेरै क्षेत्रमा अवसरको निर्माण भएको र ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण थालनी भइसकेको उहाँको दाबी थियो । उहाँले व्यापार, ऊर्जा, क्रस बोर्डर कनेक्टिभिटीका क्षेत्रमा पछिल्ला दिनमा दुई देशबीच महत्त्वपूर्ण सहकार्य भइरहेको चर्चा गर्नुभएको थियो।

नेपाली दूतावासका नियोग उपप्रमुख रामप्रसाद सुवेदीले दुई देशबीचको सकारात्मक अवसरहरुको चर्चा गर्दै ईपीजी र सीमा विवादलाई पनि थाँती राखिरहन नहुने बताउनुभयो। उहाँले प्रधानमन्त्री तहमा सीमा विवादलाई पनि कायम संयन्त्रमार्फत निराकरण गर्ने सहमति भएबमोजिम त्यसको सम्बोधन हुनु उपयुक्त हुने बताउनुभयो

नेपालका लागि पूर्व भारतीय राजदूत जयन्तप्रसादले वर्षौंदेखि नेपालबाट भारतले बिजुली पाउने विषय प्रतिक्षित रहेकोमा त्यसको थालनी भएको सुनेर आफूलाई खुसी लागेको बताउनुभयोकान्तिपुर।