नेपाली र अमेरिकी सेनाबीच सहकार्य बढाउने प्रतिबद्धता
2022-06-11 16:34:16CRI
Share with:

द्विपक्षीय हित र पारस्परिक सम्बन्धमा जोड दिँदै नेपाल भ्रमणमा रहेका अमेरिकी सेनाको एसियाप्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिनले काठमाडौंमा शुक्रबार उच्चस्तरीय भेटवार्ता गर्नुभएको छ। उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट तथा प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्नुभयो। भेटमा अमेरिकी दूतावासका उपप्रमुख मनुकल पी मिकलर पनि सहभागी रहेको कान्तिपुर अनलाइनले जनाएको छ।

 

नेपाल भ्रमणमा बिहीबार आएका जनरल फ्लिनले शुक्रबार बेलुकी शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेकराष्ट्रपति भण्डारीका प्रेस विज्ञ टीका ढकालले भन्नुभयो। जनरल फ्लिनले नेपाली सेना र अमेरिकी सेनाबीच सहकार्य रहेको उल्लेख गर्दै यसलाई थप अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका ढकालले बताउनुभयो। नेपाली सेनाको परमाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीले नेपाल शान्तिको पक्षमा रहेको तथा शान्तिका अग्रदूत गौतम बुद्ध नेपालमा जन्मेको अवगत गराउँदै नेपाली सेनाले विश्व शान्ति स्थापना कार्यमा काम गरिरहेको बताउनुभएको  थियो। भेटमा उहाँले शान्ति स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदाय र अमेरिकी सरकारबाट प्राप्त सहयोगमा धन्यवाद दिनुभयो। केही वर्षयता नेपाली सेनाले अमेरिकी सेना, भारतीय सेना र चिनियाँ जनमुक्ति सेनासँग संयुक्त सैनिक अभ्यास गर्दै आइरहेको छ। साथै, अमेरिका, भारत र चीनसँग भूकम्प, कोभिड१९ र अन्य समयमा पनि सहयोग लिँदै आइरहेको छ

 

राष्ट्रपति भण्डारीसँग भेट गर्नुअघि जनरल फ्लिनले बालुवाटारमा प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवालाई भेटेर नेपाल र अमेरिकाका सेनाबीचको सहकार्यका बारेमा कुरा गर्नुभएको थियो। प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारका अनुसार राष्ट्रसंघीय शान्ति स्थापना मिसनमा नेपालको निरन्तर योगदानको जनरल फ्लिनले प्रशंसा पनि गर्नुभएको  थियो। प्रधानमन्त्री देउवालाई भेट्नुअघि जनरल फ्लिन सैनिक मुख्यालय जंगी अड्डा पुग्नुभएको थियो। उहाँको सम्मानमा जंगी अड्डा परिसरमा नेपाली सेनाले सम्मान गारथ दिएपछि नेपाली सेनाको अपरेसनल गतिविधिका बारेमा प्रस्तुतीकरणसमेत गरिएको थियो। त्यसपछि प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको सेनाले जनाएको छ

 

उच्च पदस्थ अधिकारीबाट विगतमा भएका सद्भावना भ्रमणको निरन्तरतास्वरूप चारदिने औपचारिक भ्रमणका क्रममा जनरल फ्लिन शनिबार हिमाल दृश्यावलोकनका लागि माउन्टेन फ्लाइटमा सहभागी हुने कार्यक्रम छ। यस्तै, पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजको भ्रमण गरी आइतबारै देश फिर्ता हुने कार्यक्रम छ।