एयर चाइनाको छङ्तु-काठमाडौं उडान पुनः सञ्चालन
2022-06-12 16:05:23CRI
Share with:

कोभिड-१९ महामारीका कारण एक वर्षदेखि बन्द रहेको चाइना एयरलायन्सको छङ्तु-काठमाडौं उडान पुनः सुरु भएको छ। एयर चाइनाको दक्षिणपश्चिम शाखाले आइतबारदेखि यात्रुवाहक ए-३३० विमानद्वारा सिचुवान प्रान्तको राजधानी छङ्तुदेखि काठमाडौंसम्मको यात्रुवाहक उडान एक वर्षपछि पुनः निरन्तर गरेको हो।

 

महामारी रोकथाम र नियन्त्रणको सामान्यीकरण अन्तर्गत सिंगापुरबाट उडानहरू पुन: सुरु गरेपछिको काठमाडौंतर्फ एयर चाइनाको यो दोस्रो अन्तर्राष्ट्रिय रुट संचालनमा ल्याइएको चिनियाँ संचारमाध्यमहरूले जनाएका छन्।

 

एयर चाइना दक्षिणपश्चिम शाखाले एयरबस ए ३३०-२०० वाइड बडी लामो दूरीको यात्रुवाहक विमानलाई सञ्चालनमा ल्याउने र प्रत्येक आइतबार राउन्ड ट्रिप उडान गर्ने जनाएको छ। सिचुवान प्रान्तीय राजधानी छङ्तुस्थित श्वाङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने उडानको समय लगभग ३ घण्टा ४० मिनेटको छ।

 

एयर चाइनाले छङ्तु-काठमाडौं अन्तर्राष्ट्रिय रुट पुनः सुरु गर्नु भनेको चीनको पश्चिमी क्षेत्र र दक्षिण एसियाबीचको आर्थिक विकासको एउटा ढोका खुल्नुजस्तै भएको चिनियाँ संचारमाध्यमहरूले जनाएका छन्।

 

यसअघि नेपाल-चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले काठमाडौंबाट युननान प्रान्तको खुनमिङसम्म नयाँ सिधा उडान सुरू गरेको थियो। गत मे ३१ तारिख मंगलबार हिमालय एयरलाइन्सको उडान एच ९७८४ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ घण्टा ४९ मिनेटमा खुनमिङको छाङ्श्वे विमानस्थलमा सफलतापूर्वक अवतरण गरेको थियो।

 

कोरोना महामारीपछि चीन र नेपालबीचको सिधा उडानको साथ हिमालय एयरलाइन्सले नयाँ खोलेको यो नै पहिलो यात्रुमार्ग थियो। प्रत्येक मंगलबार एक राउन्ड ट्रिप खुनमिङका लागि भइरहेको छ। हिमालय एयरलाइन्सले छोङछिङपछि खुनमिङमा गरेको यो छैटौं सिधा हवाईमार्ग थियो। यसअघि हिमालयले बेइजिङ, कुइयाङ, छाङ्सा, सनचौ, छोङछिङमा उडान भरेको थियो।