नेपालबाट चोरी निकासीलगायत विभिन्न कारण विदेश लगिएका ७९ मूर्ति फिर्ता
2022-06-12 16:06:23CRI
Share with:

नेपालबाट चोरी निकासीलगायत विभिन्न कारण विदेश पुर्‍याइएका पुरातात्विक तथा सांस्कृतिक महत्वका मूर्ति हालसम्म ७९ वटा फर्काइएका छन्। चीन (तिब्बत)बाट २८, बेलायतबाट १९, अमेरिकाबाट १७, भारत (कोलकाता)बाट १३, अस्ट्रिया र  जर्मनीबाट एक-एक थान फिर्ता ल्याइएको हो। अमेरिका, फ्रान्स, बेलायत, अस्ट्रेलियालगायत मुलुकबाट थप कलाकृति ल्याउन कूटनीतिक पहल भइरहेको पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले बताउनुभयो।

 

आगामी आर्थिक वर्ष धेरै मूर्ति आउनेवाला छन्। नेपालबाट के कति सांस्कृतिक सम्पदा बाहिरिए भनेर कुनै तथ्यांक छैन। तर, विश्वका विभिन्न प्रख्यात संग्रहालयमा प्रदर्शनमा राखिएका नेपाली विशिष्ट किसिमका कलाकृतिले नेपालबाट हजारौं संख्यामा महत्वपूर्ण कलाकृतिहरू बाहिरिएको पुष्टि हुन्छ, महानिर्देशक गौतम भन्नुहुन्छ, ‘कूटनीतिक माध्यमबाट सयौं पाइप लाइनमा आउनेवाला छन्। आउने आर्थिक वर्ष ५० भन्दा बढी ल्याउने प्रक्रियामा छन्।

उहाँका अनुसार सांस्कृतिक, पुरातात्विक महत्वका सम्पदाहरू संरक्षण ऐन बनेसँगै बढी चासो देखिएको हो। चोरी मात्र नभई तीन प्रकारले हाम्रा सम्पदा अन्य मुलुक पुगेका छन्, हाँले भन्नुभयो,उपहारका रूपमा, बेचिएर र चोरिएर।

 

विदेश पुर्‍याइएका मूर्तिलगायत अन्य बहुमूल्य वस्तु प्रमाण पुगेपछि फिर्ता ल्याइएको उहाँको भनाइ छ। देशको विशिष्ट र मौलिक पहिचान बोकेका सम्पत्तिलाई संरक्षण गर्नु सरकारको दायित्व रहेको उहाँको भनाइ छ।

अन्नपूर्णपोस्ट अनलाइनका अनुसार सन् १९५० अघि नेपालबाट के कति सांस्कृतिक सम्पदा बाहिरिए भन्ने तथ्यांक सरकारसँग पाइँदैन। यो विभाग २००९ सालमा स्थापना भयो। २०१३ सालमा प्राचीन स्मारक संरक्षण ऐन बन्यो। त्यसपछि मात्र पुरातात्विक वस्तुको संरक्षण गर्न थालिएको हो।

 

पुरातात्विक महत्वका पाँच मूर्ति हालै मात्र नेपाल ल्याइएको छ। तिनीहरू उत्पत्तिस्थल नेपाल भएको पुष्टयाइँ विभागले गरेपछि अमेरिकाको सिकागोबाट प्राप्त गरिएको हो। पाँचौं, छैटौं शताब्दीको विशेष प्रकारको तीन तहको ब्रम्ह्भाग, विष्णुभाग र शंकर भाग खमबादेखि बनेको प्रस्तरको चतुर्मुखी शिवलिंग छ। जुन सन् १९८० आसपास पशुपति परिसरबाट चोरी भएको थियो।

 

अमेरिकाकै देनभर आर्ट म्युजियम डीएएमको एसिएन कलेक्सनमा रहेको ललितपुर महानगरपालिका११ को गाः हिटी हालको गाः हिटी टोल सुधार समितिको कार्यालय भवनबाट सन् १९६० मा हराएको १०औं शताब्दीको प्रस्तरको उमामहेश्वरको मूर्ति छ। ती मूर्तिहरू १२ र १३औं शताब्दितिरको राजकीय स्वरूपको मानवकार पदममणी लोकेश्वर अर्थात् बोधसत्व अवलोकितेश्वर मूर्ति र १६औं शताब्दीको प्रस्तरको शाक्यमुनि बुद्धको मूर्ति भने सन् १९५० पछिको कुनै वर्षमा नेपालबाट हराएर उक्त ट्रस्टमा पुगेको बुझिन्छ।

यसरी विभिन्न समयमा हराएका यी ५ कलात्मक विभिन्न माध्यम हुँदै त्यहाँ पुगेका हुन्। सरकारले मूर्ति ल्याउन २० लाख रुपैयाँ छुट्ट्याएको गौतमको भनाइ छ। उहाँका अनुसार भेटिएका मूर्तिहरूको प्रकृति हेरेर रकम खर्च हुने गरेको छ। हालसम्म भेटिएका मूर्ति सिधै कार्गोबाट ल्याउने गरिएको छ।