प्राकृतिक प्रकोपको उद्धार पूर्वाभ्यास
2022-06-12 16:08:37CRI
Share with:

वर्षायाम सुरु भएसँगै बाढीपहिरोबाट हुन सक्ने सम्भावित जनधनको क्षति न्यूनीकरणबारे तीनवटै सुरक्षा निकायले संयुक्त रूपमा पूर्वाभ्यास सम्पन्न गरेका छन् । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले प्रतीकात्मक रूपमा देशभर शनिबार अभ्यास गरिएको जानकारी दिनुभयो। काठमाडौँको कीर्तिपुरस्थित टौदहमा शनिबार बिहान नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालले जिल्ला विपत् व्यवस्थापन समितिमार्फत एकसाथ पूर्वतयारी अभ्यास गरेको गोरखापत्र अनलाइनले जनाएको छ।  

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता विदुर खड्काले नदी तथा पोखरीमा फसेकालाई गरिने उद्धार, बेपत्ताको खोजीबारे पूर्वतयारीलगायत अभ्यास गरिएको बताउनुभयो। बाढीपहिरोमा फसेका व्यक्तिको उद्धारपछि उपचारसम्मको तयारी कसरी गर्ने भन्नेबारे समेत पूर्वतयारी अभ्यास गरिएको थियो । विपत् व्यवस्थापनमा खटिएका कतिपय सुरक्षाकर्मी आफँै फस्ने र दुर्घटनामा समेत पर्ने गरेका छन् । तालिममा त्यसबाट कसरी जोगिने तथा फसेमा कसरी उद्धार गर्ने भन्नेबारे पूर्वाभ्यास गरिएको थियो ।

वर्षायाम सुरु भएसँगै बाढीपहिरोबाट हुन सक्ने क्षति तथा सम्भावित विपत्का क्षेत्र पहिचान गरी खोलाकिनार तथा सम्भावित पहिरोको जोखिम भएका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । यस्तै जिल्ला सुरक्षा समितिको संयोजनमा विपत्बारे जानकारी तथा पूर्वसचेतना अभिवृद्धि गर्ने कार्य भइरहेको छ ।नेपालमा प्रत्येक वर्षायाममा बाढीपहिरो तथा डुबानका कारण ठूलो जनधनको क्षति हुने गरेको छ । यस वर्षको मनसुन र वर्षाका कारण करिब २० लाख नागरिक प्रभावित हुन सक्ने पूर्वानुमान गरिएको छ।