त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टर्मिनल भवनको शिलान्यास
2022-06-13 15:32:04cri
Share with:

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको आगमन टर्मिनल भवनको शिलान्यास गरिएको छ। जुन १२ तारिख आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भवनको शिलान्यास गर्नु भएको बाह्रखरी अनलाइनले लेखेको छ।

आन्तरिक हवाई यात्रुको चाप बढेसँगै आन्तरिकतर्फको टर्मिनल भवन बनाउन लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

मन्त्री आलेले भवन निर्माणको काम समयअगावै सक्न निर्माणको जिम्मा पाएको ब्राइट मल्टी कन्स्ट्रक्सनका अधिकारीलाई आग्रह गर्नुभयो। उक्त भवन पाँच करोड रुपैयाँमा एक वर्षभित्र निर्माण गर्ने लक्ष्य छ।

उहाँले प्रस्तावित आन्तरिक टर्मिनल भवनमा भीआईपी कक्ष, शौचालयको व्यवस्था, यात्रुलाई बस्ने व्यवस्था र ६० वर्ष उमेर समूहमाथिका मानिसलाई बस्न कुर्सीको व्यवस्था हुने बताउनुभयो। मन्त्री आलेले विमानस्थलमा सरसफाइलाई ध्यान दिन पनि आग्रह गर्नुभयो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नलिनचोकमा करिब ३२ रोपनी जग्गामा हेलिप्याड निर्माणका लागि बोलपत्र आह्वान गरिएको बताए। आउँदो आर्थिक वर्षभित्रमा हेलिप्याड निर्माणको काम सकिने उहाँको भनाइ छ।

आज नै त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल भवनको स्टोराइल हलको विस्तारित कक्ष तथा बुटिक अवधारणाअनुसार नवनिर्मित वाटर फाउन्डेसनसहितको रोटरी आइल्यान्डको पनि उद्घाटन गरिएको छ।