नेपाल र चीनको सीमा जिल्ला हुम्लाको यारीमा सुख्खा बन्दरगाहको सम्भाव्यता अध्ययन
2022-06-13 15:33:04cri
Share with:

हुम्लाको नाम्खा गाउँपालिका–५ को यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ। यसका लागि काठमाडौंबाट आएका टोलीले स्थलगत रुपमा यारी पुगेर अध्ययन सुरु गरेको गोरखापत्र अनलाइनले लेखेको छ।

प्रमुख जिल्ला अधिकारी सीता परियारले चीनसँगको सीमा क्षेत्र यारीमा सुख्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सुरु भएको बताउनुभयो। चालु आर्थिक वर्षमा सरकारले उक्त सम्भाव्यता अध्ययनको कार्यक्रम तय गरेको थियो। यसका लागि केही समय अगाडी उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयले सार्वजनिक सुचना निकालेर परामर्शदाता कम्पनीमा एमएस कार्ड कन्सल्ट लिमिटेड छनौट गरि सम्झौता गरेको थियो। लिमिटेडसँगको सम्झौतासँगै दुई सदस्यीय टोली हुम्ला पुगेर स्थलगत रुपमा अध्ययन सुरु गरेको प्रजिअ परियारले बताउनुभयो। 

टोलीमा खटिनुभएका इन्जिनीयर सन्तोष खड्काले टोली यारी पुगेर स्थलगत रुपमा अध्ययन सुरु गरेको बताउनुभयो। उहाँले बन्दरगाह निर्माण क्षेत्रको टोपोग्राफीको अध्ययन हुने बताउनुभयो। त्यसैगरी जग्गाको बनावट, प्रकृति, खानेपानी, बिजुली, सडक सञ्जाल र सामाजिक बिवरणको समेत अध्ययन गरिने बताउनुभयो। त्यसैगरी यारी क्षेत्र चार हजार ४०० मिटर अग्लो भएको कारण हिउँ पन्छाउन मिल्ने अबस्थाको पनि अध्ययन गरिनेछ। उक्त क्षेत्रका कर्णाली करिडोरको सडक पनि जोडिएको छ। सरकारी जमिन पनि प्रसस्त मात्रामा रहेको छ। उहाँले कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेशले यस बन्दरगाहबाट फाईदा लिन सक्ने बताउदै उक्त बन्दरगाह व्यापारिक तथा रणनैतिक महत्वको हुने बताउनुभयो। 

टोली चीनसँगको सीमा क्षेत्र हिल्सामा पनि पुग्नेछ। नौ दिन स्थलगत अध्ययनपछि टोली यारीबाट फिर्ता हुनेछ। उहाँले फिल्ड अध्ययनपछि तयार हुने प्रतिवेदन असार महिनाभित्र मन्त्रालयलाई पेश गर्ने बताउनुभयो। उक्त बन्दरगाहको अध्ययनपछि डिपिआर तयारीको बाटो खुल्नेछ। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले नौ वर्ष अगाडी यारी बन्दरगाहको माग सरकारसँग राख्नु भएकोथियो। बन्दरगाह भने कर्णाली प्रदेशमै पहिलो र व्यापारिक महत्व झल्किने छ। हुम्लामा उत्पादन जडिबुटी, फलफुल, तरकारी, काठ सहज रुपमा निकासी गर्ने बाटो खुल्नेछ।