चिनियाँ नेता तथा अमेरिकी राष्ट्रपतिका राष्ट्रिय सुरक्षा सहायक बीच भेटवार्ता
2022-06-14 18:42:36cri
Share with:

स्थानीय समय अनुसार, जुन १३ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको बैदेशिक मामिला कार्यालयका निर्देशक याङ चेछले लक्जेम्बर्गमा अमेरिकी राष्ट्रपतिका राष्ट्रिय सुरक्षा मामिला सहायक जेक सुलिवानसँग भेटवार्ता गर्नुभएको छ। चीन-अमेरिका सम्बन्ध र साझा अभिरूचि भएका अन्य विषयहरूबारे दुई पक्षले सदिच्छापूर्ण, गहिरो र रचनात्मक सम्पर्क र आदानप्रदान गरेका छन्। सम्पर्क तथा वार्तालाई बढाउनुका साथै गलत बुझाइलाई कम पार्दै आपसी मतभेद र भिन्नताहरूलाई राम्ररी व्यवस्थापन गर्ने सहमति दुवै पक्षले जनाएका छन्।

याङ चेछले जोड दिँदै भन्नुभयोः केही समयदेखि, अमेरिकाले चीनमाथि चौतर्फी रूपमा दमन गर्दै आएको छ। यसले दुई देशबीचको आदान-प्रदान र सहयोगमा ठूलो नोक्सान पुर्‍याएको छ। यस्तो अवस्था चीन र अमेरिका लगायत विश्वका विभिन्न देशहरूका लागि अनुकूल छैन।

चीन-अमेरिका सम्बन्ध महत्वपूर्ण चौबाटोमा रहेको छ। प्रतिस्पर्धाको दृष्टिकोणबाट चीन-अमेरिका सम्बन्धलाई परिभाषित गर्नुको चीनले दृढतापूर्वक विरोध गर्दछ। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले प्रस्तुत गर्नुभएको पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र साझा जीत तीन सिद्धान्तहरू नै चीन र अमेरिकाका लागि एकले अर्काको व्यवहार गर्ने सही बाटो हो। यस्तो सिद्धान्तको कार्यान्वयन गर्ने बाटो तथा पद्धतिको अध्ययन गर्न चीन इच्छुक रहेको छ।

थाइवान समस्या चीन-अमेरिका सम्बन्धको राजनीतिक आधारसँग सम्बन्धित छ। अमेरिकी पक्षले यो विषयलाई विवेकपूर्ण र उचित रूपमा व्यवहार गर्नुपर्ने कुरा याङले जोड दिनुभयो। साथै सिन्च्याङ, हङकङ, तिब्बत, दक्षिण चीन सागर, मानवअधिकार र धर्म सम्बन्धी चीनको गम्भीर अडानलाई पनि उहाँले पुष्टि गर्नुभयो। याङ चेछले अमेरिकाले चीनसँग सकारात्मक अन्तरक्रिया गर्दै एसिया-प्रशान्त क्षेत्रको समृद्धि, स्थायित्व र विकासका लागि संयुक्त प्रयास गर्नुपर्नेमा पनि जोड दिनुभयो।

यसका अतिरिक्त, दुवै पक्षले युक्रेन र उत्तर कोरिया आणविक समस्या लगायत अन्तर्राष्ट्रिय र क्षेत्रीय समस्याहरूमा पनि विचार आदानप्रदान गरेका छन्।