नेपालमा धानका दुई नयाँ जातको विकास, रैथाने ५ जात सूचीकृत
2022-06-14 15:56:15cri
Share with:

झन्डै ८ वर्षको अनुसन्धानपछि नेपाल सरकारले धानका दुई नयाँ उन्नत जात विकास गरेको छ । ‘खुमलटार’ नामक धानको जातमा रोगकीरा लाग्ने, उत्पादन घट्ने समस्या देखिएपछि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकले थप २ नयाँ जात विकास गरेका हुन् । नार्कअन्तर्गत राष्ट्रिय बाली तथा आनुवंशिक अनुसन्धान केन्द्रले विकास गरेको उक्त जात राष्ट्रिय बीउविजन समितिले अनुमोदन गरी राजपत्रमा प्रकाशन भइसकेको कान्तिपुर अनलाइनले लेखेको छ ।

‘खुमलटार जात विकास भएको ३२/३३ वर्ष भयो । उत्पादन घट्ने, कीरा लाग्नेलगायत गुनासो आएपछि अनुसन्धान थाल्यौं,’ केन्द्रका अनुसन्धानकर्ता (वैज्ञानिक) उज्ज्वल कुमार सिंह कुशवाहाले भन्नुभयो, ‘करिब ८ वर्षको अनुसन्धानपछि खुमल १२ र खुमल १४ उन्नत जात विकास गर्‍यौं ।’ खुमलटार विकास हुँदा सुरुमा प्रतिहेक्टर ६ देखि साढे ६ टन धान फल्थ्यो । अहिले घटेर ४ देखि साढे ४ टनमा सीमित छ । त्यसमाथि रोग्ने लाग्ने समस्याले किसान चिन्तित रहेको नार्कको भनाइ छ । विकास गरिएको नयाँ जात मसिनो धान हो । यो धान १ सय ४५ देखि १ सय ४७ दिनमा पाक्छ । यसबाट प्रतिहेक्टर ४.७ टनसम्म उत्पादन हुन्छ ।

खुमल १२ र खुमल १४ मध्यपहाडका लागि सिफारिस गरिएको नार्कले जनाएको छ । विभिन्न जात संकलन र अनुसन्धान गरी उन्नत जात विकास गरिएको बीउबीजन गुणस्तर नियन्त्रण केन्द्रका सूचना अधिकारी प्रकाश आचार्यले जानकारी दिनुभयो । ‘विभिन्न अध्ययन/अनुसन्धान गर्न कम्तीमा ८ देखि १२ वर्ष लाग्छ । थप दुई उन्नत जात विकास गरेर जेठ ९ को राजपत्रमा प्रकाशन गरिएको छ,’ आचार्यले भन्नुभयो, ‘दुवै जात समुद्री सतहबाट ८ सयदेखि १५ सय मिटरसम्ममा पहाडी क्षेत्रका लागि सिफारिस गरेका छौं ।’ अहिले धानका ७० देखि ७५ उन्नत जात विकास भइसकेका छन् ।

कुशवाहकै नेतृत्वमा भएको अनुसन्धानले खुमल १६ को पनि विकास गरेको छ । खुमल १६ समितिबाट अनुमोदन भइसकेको छ । राजपत्रमा भने प्रकाशन हुनेछ । सरकारले नेपालमा खेती हुँदै आएका धानका ५ रैथाने जात पञ्जीकरण (सूचीकृत) समेत गरेको छ । एक्ले, रातो अनदी, कालो झिनुवा, बयर्नी र पहेंले नामका रैथाने जात समुद्री सतहबाट ८ सयदेखि १ हजार मिटरसम्ममा लगाउन मध्यपहाडी क्षेत्रमा सिफारिस गरिएको छ ।

सूचीकृत नहुँदा अन्य मुलुकले चोर्ने, विदेशमा लगेर आफ्नो उत्पादन भनेर दर्ता गर्ने सम्भावना हुन्छ । त्यसलाई रोक्न रैथाने जातलाई पनि सूचीकृत गरिएको सूचना अधिकारी आचार्यले बताउनुभयो। भारतमा विकास गरिएको धानका चार वर्णशंकर (हाइब्रिड) जात पनि सूचीकृत गरिएको छ । स्वदेशमै विकसित धानका दुई वटा मात्रै हाइब्रिड जात छन् । ती जात हर्दिनाथ १ र हर्दिनाथ ३ हन् । तराई क्षेत्रमा बढी हाइब्रिडकै माग छ ।

केन्द्रले आँपका तीन स्थानीय जात दशहरी, माल्दह र आम्रपाली पनि सूचीकृत गरेको छ । यी सबै जात समुद्री सतहदेखि ६ सय मिटर उचाइसम्मको क्षेत्रका लागि सिफारिस गरिएको छ । लिचीका ६ स्थानीय जात शाही, मुजफ्फरपुर, कलकत्तिया, रोज सेन्टेड, लेट सिडलेस र अर्ली सिडलेस पनि सूचीकृत भएका छन् । यी सबै जात समुद्री सतहदेखि ६ सय मिटर उचाइसम्म उपयुक्त हुने केन्द्रको भनाइ छ । किबीका ४ स्थानीय जात हेवार्ड, एवट, एलिसन र ब्रुनो पनि सूचीकृत भएका छन् । यी जात समुद्री सतहबाट ११ सयदेखि २१ सय मिटर उचाइसम्मका क्षेत्रका लागि सिफारिस भएका हुन् । अहिलेसम्म ८० बालीका ७ सय २३ जात सूचीकृत भइसकेको केन्द्रले जनाएको छ ।