नेपालको सबैभन्दा पुरानो चिया कारखानालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल
2022-06-16 15:38:51cri
Share with:

इलाम नगरपालिकाले नेपालको जेठो उद्योगका रुपमा रहेको इलामको पुरानो चिया कारखानालाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि पहल गर्ने भएको छ। नगर कार्यपालिकाको बैठकले इलाम नगरपालिका ७ मा रहेको कारखानालाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि आवश्यक प्रक्रिया अगाडी बढाउने निर्णय गरेको कारोबार अनलाइनले लेखेको छ।

कारखानासँगै इलाममा रहेको ऐतिहासिक इलाम चिया बगानलाई समेत विश्व सम्पदा सूचीमा समावेश गराउन पहल भइरहेको इलाम नगरपालिकाका मेयर केदार थापाले बताउनुभयो। उहाँले यो कारखाना र चियाबगान हाल पनि धेरैको अध्यन अनुसन्धानको केन्द्र रहेको भन्दै विश्वका अनुसन्धानकर्ताका लागि जानकारीका लागि पनि विश्व सम्पदा सूचीमा सूचीकृत हुन आवश्यक भएकाले पहल अगाडी बढाइएको बताउनुभयो।

इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाले नेपालमा नै पहिलोपटक विक्रम सम्वत् १९२० सालमा चिया बगान लगाएको इतिहास छ। उनकै पहलमा विस १९३५ सालमा चिया प्रशोधन कारखानाको स्थापना गरेको बताइन्छ। यो चिया कारखाना मुलुककै जेठो तथा पुरानो उद्योगका रुपमा परिचित छ।

विश्व सम्पदा सूचीमा समावेश भएपछि यसको जगेर्ना हुने भएकाले पनि यस्ता कार्यको संरक्षणमा नगरपालिका जुटेको नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालले बताउनुभयो। नगर कार्यपालिकाको पहिलो बैठकले यस्तो निर्णय गरेको हो। त्यस्तै बैठकले यसअघि भएका निर्णयहरूको कार्यान्वयन तथा प्रगति सम्बन्धमा समीक्षा गर्दै कार्यान्वयन हुन बाँकी पूर्व निर्णय यथासमयमा कार्यान्वयनको व्यवस्था मिलाउने निर्णय गरेको छ।