भैरहवामा खुल्यो वैदेशिक रोजगार व्यवस्थापन शाखा
2022-06-16 15:41:54cri
Share with:

नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको सुविधाका लागि भैरहवामा ‘वैदेशिक रोजगार व्यवस्थापन शाखा’ को स्थापना गरिएको छ। यो शाखा संचालनमा आएपछि वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई श्रम सम्बन्धी आवश्यक प्रकृया पुरा गराउन काठमाडौंमा पुग्नु पर्ने बाध्यता अन्त्य भएको कान्तिपुर अनलाइनले लेखेको छ।

स्थापित उक्त शाखाको बुधबार श्रम रोजगार तथा सामाजिक विकास मन्त्री किसान श्रेष्ठले उद्घाटन गर्नुभयो। भैरहवाबाट अन्तर्राष्ट्रिय उडान संचालन भएसँगै पायक पर्ने श्रमिकलाई सहज बनाउनका लागि वैदेशिक रोजगार व्यवस्थापन शाखाको स्थापना गरिएको उहाँले बताउनुभयो। भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान संचालन गरिएपछि लुम्बिनी प्रदेशमात्र नभएर सुदूरपश्चिम, कर्णाली, वाग्मती र गण्डकी प्रदेशका श्रमिकलाई वैदेशिक रोजगारीमा जान सहज र पायक पर्ने उहाँले बताउनुभयो।

भैरहवाबाट वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई छुट दिएर सुलभ सेवा दिनका लागि उहाँले होटल, ट्राभल एजेन्सी लगायतका सम्बद्ध व्यवसायीलाई आग्रह गर्नुभयो। ‘स्वदेशका युवाशक्तिलाई विदेश पठाएर विकास गर्न नसकिने भएपनि बाध्यकारी अवस्था भएको छ’ मन्त्री श्रेष्ठले भन्नुभयो, ‘उनीहरुले विदेशमा सिकेका सीपलाई भित्र्याएर सदुपयोग गरिने छ।’ यसका लागि सातै प्रदेशमा सीपमुलक तालिम प्रतिष्ठान स्थापना गर्न अहिलेको बजेटमा व्यवस्था गरिएको उहाँले बताउनुभयो।

सबै अनलाइन प्रकृयाबाट सेवा गरिने यस शाखा कार्यालयमा तत्कालका लागि शाखा अधिकृतस्तरको कर्मचारी सहितको टिमबाट सेवा सुरु गरिने र लगत्तै उपसचिव दरबन्दी सहितको टिमको व्यवस्थापन गरिने मन्त्री श्रेष्ठले बताउनुभयो। मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारी सम्बन्धी सरकारले प्रदान गर्ने सेवालाई अब काठमाडौंमा मात्र सीमित नराखी भैरहवा र त्यसपछि पोखराबाट सुरु गरिने बताउनुभयो। ‘राजधानीमा मात्र केन्द्रित रहेको सेवालाई अन्यत्रबाट पनि प्रदान गर्न समेनपावर व्यवसायी पनि सरकारको पछि पछि लाग्नुस्’ अर्यालले भन्नुभयो, ‘यसका लागि मेनपावर व्यवसायीलाई के सहयोग गर्नु पर्छ ? मन्त्रालय र सरकार तयार छ।’