दूध उत्पादनको प्रोत्साहन रकम सिधै किसानको बैंक खातामा
2022-06-17 16:12:57cri
Share with:

दूध उत्पादनमा किसानलाई दिइँदै आएको प्रोत्साहन रकम अब सिधै किसानको बैंक खातामा जम्मा हुने भएको छ। उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम अन्तर्गत किसानले प्रतिलिटर २ रुपैयाँ पाउँछन्। सो रकम  अब सिधै किसानको बैंक खातामा जम्मा गरिदिने वाग्मती प्रदेश सरकारले जनाएको कान्तिपुर अनलाइनले लेखेको छ।

‘दूध उत्पादनमा दिइँदै आएको प्रतिलिटर दुई रुपैयाँ उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमलाई आगामी वर्ष थप विस्तार गरिनेछ। यस कार्यक्रमबाट वास्तविक किसान लाभान्वित भए/नभएको सम्बन्धमा अनुगमन गर्न संयन्त्र बनाइने छ,’ बुधबार वाग्मती प्रदेशको बजेट प्रस्तुत गर्दे आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले भन्नुभयो, ‘प्रोत्साहन रकम किसानको बैंक खातामा सोझै जम्मा हुने व्यवस्था मिलाएको छु।’ वाग्मती प्रदेशले दूध उत्पादन प्रवर्द्धन गर्ने कार्यक्रमका लागि ३० करोड रुपैयाँ बिनियोजन गरेको छ। त्यस्तै आगामी ३ वर्षभित्र दूधको उत्पादन ३५ प्रतिशतले वृद्धि गर्न सम्भाव्ययताको आधारमा ‘डेरी एक्सलेन्सी सेन्टर’ स्थापना गर्न सहकारी तथा निजी क्षेत्रलाई प्रोत्साहन गरिने प्रदेश सरकारले जनाएको छ।