‘ब्रिक्स व्यापार मञ्च २०२२’ जुन २२ तारिख पैचिङमा
2022-06-17 19:41:21cri
Share with:

‘ब्रिक्स व्यापार मञ्च २०२२’ जुन २२ तारिख पैचिङमा अनलाइन र अफलाइन दुवै तरिकामार्फत् आयोजना हुँदै छ। उक्त जानकारी चीन अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन समितिका उपाध्यक्ष चाङ साउकाङले जुन १७ मा आयोजित पत्रकार सम्मेलनमा दिनुभएको हो।

यस पटकको व्यापार मञ्च र ब्रिक्स मुलुकका नेताहरूको शिखर सम्मेलन एकपछि अर्को गरी आयोजना हुनेछन्। व्यापार मञ्चमा "ब्रिक्स सदस्यहरू बीचको व्यापार साझेदारीलाई गहन पार्दै विश्वव्यापी विकासका लागि राम्रो भविष्य सिर्जना गर्ने" मुख्य विषय राखिएको छ। उद्घाटन समारोह र ५ विशेष गोष्ठीसहित कार्यक्रमहरू मञ्चमा समेटिएको छ। चीनका लागि ब्रिक्स र विश्व विकास उच्च-स्तरीय संवादबाट निमन्त्रित विदेशी राजदूतहरू तथा कूटनीतिज्ञहरू, चीनका लागि विविध विदेशी व्यापार संघ र चिनियाँ तथा विदेशी उद्यमहरूका प्रतिनिधिहरू अफलाइन तरिकामा मञ्चमा भाग लिनुहुने छ भने ब्रिक्स मुलुकका आर्थिक र व्यापार मन्त्रीहरू तथा ब्रिक्स र "ब्रिक्स+" मुलुकका महत्वपूर्ण उद्यमीहरूले अनलाइन तरिकामार्फत् मन्चमा भाग लिनुहुने छ। अनलाइन तथा अफलाइन दुवै तवरले मञ्चमा भाग लिनेहरूको संख्या १००० भन्दा बढी हुने अपेक्षा गरिएको छ।

ब्रिक्स व्यापार मञ्च ब्रिक्स मुलुकका नेताहरूको शिखर सम्मेलन सम्बन्धी एक महत्त्वपूर्ण सहयोगी कार्यक्रम हो। यसको उद्देश्य ब्रिक्स मुलुकका व्यापारिक क्षेत्रहरू बीचको वार्तालाप र परामर्शलाई प्रवर्द्धन गर्ने, आर्थिक र व्यापारिक सहयोगलाई गहन पार्ने र उदीयमान तथा व्यापारिक क्षेत्रको आवाजको प्रतिनिधित्व गर्ने रहेको छ।