पाँचदेखि १२ वर्षसम्मका ३९ लाख बालबालिकालाई ९ असारदेखि कोभिडविरुद्धको खोप
2022-06-18 15:52:54cri
Share with:

नेपाल सरकाले ९ असारदेखि बालबालिकालाई कोरोनाभाइरसविरुद्धको खोप लगाउने भएको छ। पाँच वर्षदेखि १२ वर्षसम्मका बालबालिकालाई खोप लगाउन लागिएको नेपाल भ्युज अनलाइनले लेखेको छ।

५ देखि १२ वर्षसम्मका ३९ लाख बालबालिकालाई कोरोनाभाइरसविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन लागिएको हो। विद्यालयमा नै गएर बालबालिकालाई खोप लगाउने सरकारी तयारी छ। परिवार कल्याण महाशाखाका जनस्वास्थ्य अधिकृत संजय महासेठले बालबालिकालाई लगाउन लागिएको उक्त खोपको प्रभावकारिता ९१ प्रतिशत र सुरक्षित रहेको जानकारी दिनुभयो। खोप लगाउनका लागि खोप केन्द्रमा एक जना तालिम प्राप्त स्वास्थ्यकर्मी राख्ने उहाँले बताउनुभयो।

“खोप लगाएपछि बालबालिकामा केही असर देखिए हामी त्यहीँ अनुसन्धान गर्दछौँ,” उहाँले भन्नुभयो, “असरलाई स्वास्थ्यकर्मीले उपचार गर्दछन्।” खोप लगाएपछि टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, खोप लगाएको ठाउँ रातो हुने, शरीर चिलाउने, बिबिरा तथा डाबर आउने जस्ता समस्या हुन सक्नेसमेत उहाँले बताउनुभयो।

२७ जिल्लामा ९ असारदेखि १५ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई २ साउनदेखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइने छ। यस्तै, दोस्रो चरण ५० जिल्लामा ५ भदौदेखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा २७ भदौदेखि १ असोजसम्म सञ्चालन गरिने छ। बालबालिकालाई खोप प्रदानका गर्नका लागि विद्यालयमा खोप केन्द्र तोकेर दुई चरणमा खोप अभियान सञ्चालन हुने छ।