जलवायु परिवर्तनका कारण सगरमाथा आधार शिविर सार्ने तयारी
2022-06-18 15:55:31cri
Share with:

जलवायु परिवर्तनसँगै सगरमाथा आधार शिविरमा मानवीय गतिविधि बढ्दै जाँदा आधार शिविर मासिनेक्रम बढेपछि आधार शिविर सार्ने तयारी भएको छ। पर्वतारोहण व्यवसायको दिगोपनका लागि हिमाली क्षेत्रमा देखिएको समस्याले सिङ्गो पर्यटकीय क्षेत्र नै धरापमा पर्ने अवस्था आएको भन्दै आधार शिविर सार्ने तयारी भइरहेको सरकारी अधिकारीले बताएका गोरखापत्र अनलाइनले लेखेको छ।

जलवायु परिर्वतनसँगै बढ्दो मानवीय गतिविधिका कारण हिमपहिरो आउने, हिमताल फुट्ने, हिमाली जैविक विविधता मासिने जस्ता कुरालाई दृष्टिगत गरी पाँच हजार ३६४ मिटर उचाइमा रहेको सगरमाथा आधार शिविर सार्ने तयारी भइरहेको छ।

पर्यटन विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायका अनुसार आधार शिविर सार्नेबारे सम्भावना र सुरक्षा चुनौतीलाई आधार मानेर प्रारम्भिक अध्ययनतर्फ सरकारले ध्यान दिएको छ। खुम्बु क्षेत्र समन्वय समितिले स्थलगत अध्ययन र अवलोकनपछि आधार शिविर सार्नेबारे पर्यटन विभागलाई  सुझाएको छ।

समितिले अबको दुई साता भित्र कति मिटर तल बेस क्याम्प सार्ने भन्नेबारे प्रतिवेदन बुझाउने तयारी गरेको छ। सोही प्रतिवेदनको आधारमा बाह्रैमास हिउँ नपर्ने ठाउँमा नयाँ आधार शिविर राख्ने सम्बन्धित सबै पक्षसँग परामर्श गरिने भएको छ। 

विभागका अनुसार यस वर्षको वसन्त ऋतुमा मात्रै छ सयभन्दा बढीले हिमाल आरोहण गरेका छन्। आरोहणको मौसममा दैनिक दर्जनौँ हेलिकप्टरले आधार शिविरमा ओहोरदोहर गर्दै आएका छन्। आरोहण खुलेयता भरिया, पथ प्रदर्शक, आरोही, सम्पर्क अधिकृत, सुरक्षाकर्मीसहित सयाँै व्यक्ति आधार शिविरमा पुग्ने गरेका छन्। कतिपय आरोही आरोहण सकिउन्जेलसम्म आधार शिविरमै बस्नुपर्ने भएकाले फोहोरसमेत बढ्दै गएको विभागको भनाइ छ।

आरोहण सहजीकरणका लागि खुम्बुमा खटिएका सम्पर्क अधिकृत खेमलाल गौतमका अनुसार पर्वतीय पर्यटनलाई सुरक्षित राख्न र आरोहण क्षेत्रमा देखिएको आकर्षणलाई बचाई राख्न सुरक्षित बेस क्याम्पको अवधारणा अघिसारिएको हो।

गौतमले आधार शिविरमा केही वर्ष पहिलेसम्म हिउँको डल्लो तताएर पानीको व्यवस्था गरिँदै आएकोमा अहिले खुम्बु नदीको पानीको प्रयोग हुनेगरेको छ। जसलाई जलवायु परिवर्तनको मुख्य उदाहरणका रूपमा लिन सकिन्छ।

आधार शिविरमा खाना पकाउन तथा तातोका लागि ठूलो मात्रामा मट्टीतेल एवं ग्यास प्रयोग गर्दासमेत हिमनदीको हिउँमा असर परेको उहाँको अनुभव छ। अहिले दैनिक कम्तीमा १४ किलो एलपी ग्यास खाना पकाउन बेसक्याम्पमा प्रयोग हुँदै आएको छ।

त्यस्तै आरोहणका क्रममा बढ्दो मानवीय चापले आधार शिविरमा एक दिनमा झन्डै चार हजार लिटर पिसाब फेर्छन्। दिसा गर्न केही व्यवस्थापन भए पनि पिसाब भने खुला रूपमा नै हुने गरेको छ। दिसाका ड्रमहरू सगरमाथा प्रदूषण नियन्त्रण समितिले प्रतिड्रम ३७५ रुपियाँमा आधार शिविरभन्दा पाँच किलोमिटर तल दक्षिणमा रहेको लुबुचे भन्ने ठाउँमा विर्सजन गर्दै आएको छ। यस पटकको आरोहणमा मात्रै त्यस्ता १५० ड्रम प्रयोगमा आएका थिए।