विदेशी संस्कृतिको बढ्दो प्रभावले नेपाली मौलिक कला र संस्कृति छाँयामा पर्नसक्ने राष्ट्रपति भण्डारीको चिन्ता
2022-06-20 17:59:56cri
Share with:

राष्ट्रपति विद्यादेवी भण्डारीले विदेशी संस्कृतिको बढ्दो प्रभावका कारण नेपाली मौलिक कला र संस्कृति ओझेलमा पर्नसक्ने खतरा उत्पन्न भएको बताउनुभएको छ । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को स्वर्ण महोत्सवको उद्घाटन विशेष कार्यक्रममा आइतबार उहाँले त्यस्तो बताउनुभएको हो ।

उहाँले सूचना तथा सञ्चार प्रविधिको तीव्र विकास र यसमा सबैको सहज पहुँचका कारण नेपाली संस्कृतिको विशिष्टता लोप हुन नदिन नेपाली रङ्गमञ्च साङ्गीतिक साज–वाज र प्रस्तुतिको ढाँचामा सुधार गरिनुपर्नेमा जोड दिनुभयो । कुनै पनि मुलुकको सभ्यता कति समृद्ध छ भन्ने कुरा आफ्नो मौलिक संस्कृतिको विकास र प्रवद्र्धनका लागि समाज र राष्ट्रले कसरी  योगदान गरिरहेको छ भन्ने दृष्टिबाट मापन हुने उहाँले उल्लेख गर्नुभएको गोरखापत्रले जनाएको छ।

कला र संस्कृतिले कुनै पनि राष्ट्रको विशिष्ट पहिचान गर्ने भएकाले यसबाट बचाइराख्न नेपाली नाटक, गीत, सङ्गीत र नृत्यकलाको संस्थागत विकास, संरक्षण एवं संवर्द्धन गर्नुपर्नेमा उहाँको जोड छ । राष्ट्रपति भण्डारीले समकालीन विश्‍वमा नाटक, गीत–सङ्गीत, नृत्य, वाद्यवादनलगायत प्रस्तुतिजन्य कलाका विभिन्न विधाले नेपाली मौलिक संस्कृति र सभ्यताको निर्माणमा गरिरहेको योगदान अमूल्य रहेको जनाउनुभयो ।

प्राचीन समयदेखि नै हाम्रा पूर्वजले मौलिक कला र संस्कृतिको महìव बुझेर तिनको जगेर्ना गर्न हामीलाई प्रेरित गर्दै आएको बताउँदै उहाँले साहित्य, कला र सङ्गीतले असल मानवीय भावनाको समेत प्रवद्र्धन गर्न जोड दिनुभयो ।