चक्रपथको दोस्रो खण्ड विस्तारका लागि चिनियाँ टोलीको प्रतीक्षामा
2022-06-20 17:57:16cri
Share with:

चक्रपथको दोस्रो खण्ड (कलंकी–नारायणगोपाल चोक) विस्तारबारे अझै अलमल कायमै छ । काम अघि बढाउन भन्दै चिनियाँ प्राविधिक टोली गत मंसिरमा साइट भिजिट गर्न नेपाल आएको थियो। दोस्रो खण्ड क्लियर छ/छैन भनेर चीनको हेनान प्रोभेन्सियल कम्युनिकेसन प्लानिङ सर्भे एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीले पठाएको चार जनाको प्राविधिक टोली साइट भिजिट गरेर फर्किएको थियो। तर त्यसपछि यस खण्डको विस्तारमा अहिले थप काम केही हुन सकेको छैन। ‘मंसिरसम्म जे प्रगति थियो, अहिले पनि त्यही छ,’ सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले भन्नुभयो।

 

चीनको शाङ्हाईमा कोभिडले गर्दा लकडाउन भएको र त्यही कारणले प्राविधिक टोली आउन ढिलाइ भएको महानिर्देशक थापाको भनाइ छ । अब निर्माण गर्ने भनिएको कुनै पनि खण्डमा समस्या नरहेको उहाँले प्रस्ट्याउनुभयो। तर सडक विस्तार क्षेत्रमा पर्ने महाराजगन्ज खण्डका १९ वटा घरबारे टुंगो नलगाएसम्म चिनियाँ प्राविधिक टोलीले नआउने अडान लिएको सडक विभाग स्रोतको भनाइ छ।

महानिर्देशक थापा भने घरले कुनै असर नगर्ने र पछि त्यो ठाउँमा परे नेपाल सरकार आफैंले सडक विस्तार गर्ने प्रतिबद्धता चिनियाँ टोलीलाई दिइसकेको बताउनुहुन्छ। सरकारले काठमाडौं उपत्यकाको सवारी चापलाई व्यवस्थापन गर्न चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलंकी–नारायणगोपाल चोक खण्डको विस्तार गर्न भन्दै आगामी आर्थिक वर्ष ०७९/८० का लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको कान्तिपुर अनलाइनमा खबर छ।

डिजाइन र कन्स्ट्रक्सन टोली चीन सरकारले नै पठाउनेछ । पहिलो फेज (कोटेश्वर–कलंकी) को आयोजना कार्यान्वयन गर्दा लामो समय लाग्यो । समयमै साइट क्लियर हुन सकेन । अहिले कलंकीदेखि महाराजगन्जसम्म ८.२ किलोमिटर सडक विस्तार गर्न लागिएको हो । चीन सरकारको अनुदान सहायतामा विस्तार हुन लागेको सडकअन्तर्गत महाराजगन्जको २ सय ४४ मिटर खण्डमा मात्र समस्या छ ।

 

सुरुमा नेपाल सरकारले चीनसँग कलंकीदेखि–धोबीखोला (गोपीकृष्ण हल नजिकको पुल) सम्म ११.६ किमि सडक विस्तार गर्न आग्रह गरेको थियो । तर चीन सरकारले यसलाई तेस्रो खण्डमा विस्तार गर्ने योजना रहेको बताएको थियो ।

 

चीन फर्किएको टोलीले थप कुनै जानकारी नदिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख सहसचिव केशवकुमार शर्माको भनाइ छ । सडक विस्तारका लागि तयारीको काम थालेको तीन वर्ष बितिसकेको छ । पहिलो खण्ड विस्तार गर्ने बेला सबै साइट क्लियर गरिसकेपछि मात्र चिनियाँ टोलीले काम गर्न आउने सहमतिपत्रमा हस्ताक्षर गरिएको थियो । यसअघि पनि चीनकै अनुदान सहायतामा चक्रपथ पहिलो खण्ड (कोटेश्वर–कलंकी सडक) आठ लेनमा विस्तार भएको थियो ।