थपिँदै विषादी परीक्षण प्रयोगशाला
2022-06-21 18:08:50cri
Share with:

तरकारी तथा फलफूलमा द्रुत विषादी अवशेष परीक्षण प्रयोगशाला थप आठ स्थानमा स्थापना गरिने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र कृषि केन्द्रीय प्रयोगशालाले आगामी साउनदेखि ती प्रयोगशाला स्थापना गर्ने तयारी गरेको हो । हाल देशका विभिन्न सात स्थानमा यस्ता प्रयोगशाला सञ्चालनमा रहेको गोरखापत्र अनलाइनले जनाएको छ।  

 

विदेशबाट आयात हुने तरकारी र फलफूलको अनिवार्य विषादी परीक्षण गर्ने भन्दै सरकारले २०७६ असारमा राजपत्रमा प्रकाशित भएको थियो । नाकामा विषादी परीक्षण गर्ने यो नीतिविरुद्ध भारतले आपत्ति जनाएपछि केही समय स्थगित भएको उक्त निर्णय सर्वोच्च अदालतले विषादी परीक्षण गर्नु भन्ने अन्तरिम आदेश दिएको थियो । अदालतको आदेशपछि सरकारले प्रयोगशाला स्थापना गर्ने कार्यलाई प्राथमिकताका साथ आगाडि बढाएको हो ।

 

विभागका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय, तातोपानी, रसुवागढी, कृष्णनगर–गड्डाचौकी भन्सार नाका, चोभार सुक्खा बन्दरगाह तथा सिर्सिया सुक्खा बन्दरगाहबाट विषादी परीक्षण सुरु गर्ने तयारी भएको हो । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थलमा पनि उपकरणसहितको जनशक्ति उपलब्ध गराउने विभागले जनाएको छ ।

 

विभागका महानिर्देशक डा. मतिना वैद्य (जोशी)ले हाल परीक्षण हुँदै आएका स्थानबाहेकका नाकाबाट ठूलो परिमाणमा तरकारी र फलफूल भित्रिने हुँदा थप प्रयोगशाला सञ्चालनको तयारी गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसका लागि आवश्यक मेसिन आउन थालेका छन्, असारभित्रै सबै सामान आइपुग्छन् ।”

 

महानिर्देशक वैद्यले आगामी आर्थिक वर्षको सुरुदेखि नै थप अन्तर्राष्ट्रिय नाकामा विषादी परीक्षण सुरु हुने गरी काम भइरहेको जानकारी दिनुुभयो । उहाँका अनुसार ती नाकामा आरबीपीआर विधिमार्फत अर्गानो फस्फेट र कार्बामेट समूहको विषादी परीक्षण गरिनेछ। विषादी परीक्षणका लागि ताइवानको टेक्नोलोजी र किट खरिद गरिएको छ।

 

विभागका अनुसार तरकारी र फलफूलको स्क्रिनिङ गर्ने मेसिनले विषादीको परिमाणात्मक विषादी मात्रा परीक्षण गर्नेछ, जसमा आरबीपीआर परीक्षणमार्फत विषादीको मात्राअनुसार तत्काल खानयोग्य, केही समय होल्ड गरेर खान योग्य र खान अयोग्य भनेर छुट्याउनेछ।

 

हाल काँकडभिटा, विराटनगर, जलेश्वर, वीरगञ्ज, नेपालगञ्ज, भैरहवा र धनगढी नाकाबाट भित्रिने तरकारी तथा फलफूलमा विषादी अवशेष भन्सार नाकामै परीक्षण हुदै आएको छ । सञ्चालनमा रहेका प्रयोगशालामध्ये चारवटा कृषि विभागअन्तर्गतको केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गत छन् भने तीनवटा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गत रहेका छन्।