हाइड्रोजन प्लान्ट निर्माणको गृहकार्य सुरु
2022-06-22 18:09:42cri
Share with:

सरकारले देशभित्रै हाइड्रोजन उत्पादन प्लान्ट स्थापना गर्न तदारुकता देखाएको छ । देशभित्रै एक सय मेगावाट जलविद्युत् खपत क्षमताको हाइड्रोजन प्लान्ट स्थापना गर्ने गरी अर्थमन्त्री जनार्दन शर्माले परामर्श सुरु गर्नुभएको छ। ग्रिन हाइड्रोजनबारे अध्ययन अनुसन्धान गरिरहेको काठमाडौँ विश्व विद्यालय मातहतको ग्रिन हाइड्रोजन ल्याबका पदाधिकारीलाई मङ्गलबार अर्थ मन्त्रालय बोलाएर यसबारे छलफल गर्नुभएको हो।

 

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा पनि ग्रिन हाइड्रोजन उत्पादनबारे उल्लेख छ । रासायनिक मल उत्पादनका लागि हाइड्रोजन उत्पादन गर्न लगानी बोर्डसँग सहकार्य गर्ने उल्लेख छ । विकसित मुलुकहरू हाइड्रोजनको व्यावसायिक उत्पादन तथा बजारीकरणमा गइसकेको सन्दर्भमा जलस्रोतमा धनी नेपालले पनि अब ढिला गर्नु नहुने अर्थमन्त्री शर्माको भनाइ छ ।

उहाँले तत्काल एक सय मेगावाटको हाइड्रोजन प्लान्ट लगाउने विषयमा आवश्यक अध्ययन र प्राविधिक सहयोग जुटाउने कार्यमा संलग्न हुन ल्याबका पदधिकारीलाई निर्देशन दिनुभयो। अर्को बैठक लगानी बोर्डको कार्यालय समेतको सहभागितामा गर्ने योजना शर्माको छ। प्लान्टको सम्भाव्यता, लागत, बजार सिर्जनाबारे अर्थमन्त्री शर्माले गहन परामर्श गर्नुभएको बैठकमा सहभागी केयूका सहप्राध्यापक विराजसिंह थापाले बताउनुभयो। छलफलमा ग्रिन हाइड्रोइजन ल्याबका प्रमुख विराजसिंह थापाले सय मेगावाटको परियोजना स्थापना गर्न करिब २० अर्बसम्म लगानी लाग्न सक्ने सैद्धान्तिक आकलन रहेको जानकारी गराउनुभयो। गोरखापत्र।