११ महिनामा १७ खर्ब ६३ अर्बको आयात, व्यापार घाटा १६ खर्ब नजिक
2022-06-22 18:08:29cri
Share with:

चालु आर्थिक वर्ष २०७८/७९ को ११ औं महिना (साउन–जेठ)सम्म वैदेशिक व्यापार २० खर्ब नजिक पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ मसान्तसम्म १९ खर्ब ४९ अर्ब ६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो गतवर्ष यसै अवधिको तुलनामा २९.५ प्रतिशत बढी हो।

गत वर्ष ११ महिनामा १५ खर्ब ४ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । यस अवधिमा १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँको आयात भएको छ। निर्यातः १ खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँको भएको छ । यसबाट मुलुकको व्यापारघाटा १५ खर्ब ७७ अर्ब रुपैयाँ कायम भएको भन्सार विभागले जानकारी दिएको छ । गत वर्ष यसै अवधिमा व्यापार घाटा १२ खर्ब ६२ अर्ब रुपैयाँको थियो ।

अनलाइनखबरका अनुसार चालु आवको सुरुवाती महिनाबाटै नेपालमा उच्च आयात भएको थियो । यो ११औं महिनासम्म निरन्तर रह्यो । यो वर्ष १७ खर्ब ६३ अर्बको आयात भएकोमा गत वर्षको यसै अवधिको तुलनामा २७.५ प्रतिशत वृद्धि भयो। गत आवको ११ महिनामा १३ खर्ब ८३ अर्ब रुपैयाँको आयात भएको थियो। निर्यातको वृद्धिदर भने ५३.३ प्रतिशत रहेको छ । गत वर्षको यसै अवधिमा निर्यात व्यापार १ खर्ब २१ अर्ब रुपैयाँ रहेको छ। यस वर्ष वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.४७ प्रतिशत हुँदा निर्यात ९.५३ प्रतिशत रहेको छ ।

यसैबीच ११औं महिनासम्म सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ।यसका लागि मुलुकको ३ खर्ब ४० अर्ब रुपैयाँ विदेशिएको छ।फलाम तथा स्टिलको आयातमा १ खर्ब ५३ अर्ब रुपैयाँ बाहिरिएको छ ।