कोरिया जाने नेपाली श्रमिक बढे
2022-06-24 17:42:07cri
Share with:

सन् २०२२ को ६ महिनामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जाने नेपाली युवाको संख्या ३ हजार पुगेको छ । कोरोना संक्रमणका कारण लामो समय रोकिएको कोरियाको रोजगारी संक्रमणको कमीसँगै पुनः लयमा फर्किएको हो ।

कोरोना संक्रमणअघि औषत वार्षिक ६ हजार युवा कोरिया जाने गरेकोमा ६ महिनामा मात्र त्यसको आधा अर्थात् २ हजार ९२२ श्रमिक कोरिया प्रवेश गरेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागले सार्वजनिक गरेको जेठ महिनासम्मको प्रगति प्रतिवेदनमा विगत २ आवको तुलनामा उल्लेख्य सुधार भएको जनाइएको छ । विभागका महानिर्देशक शेषनारायण पौडेलले सन् २०२० मा १ हजार २७ युवा कोरिया प्रवेश गरेकोमा २०२१ मा घटेर ३८७ मा झरेको भए पनि २०२२ मा सो संख्या ३ हजारको हाराहारीमा पुगेको जानकारी दिनुभयो।

ईपीएस अन्तर्गत कोरिया जाने श्रमिक बढेसँगै कोरियाबाट आउने रेमिट्यान्स समेत वृद्धि हुने भएको छ। कोरोना संक्रमणपछि कोरियाले जनस्वास्थ्यसँग सम्बन्धित विभिन्न शर्त पूरा गरेपछि पहिलो चरणमा प्रतिवद्ध श्रमिक (कमिटेड वर्कर) लाई लैजाने गरी कोरियाको रोजगारी नियमित भएको थियो । प्रतिबद्ध श्रमिक भनेको कोरियामा रोजगारीका क्रममा एकै रोजगारदातासँग नियमित ४ वर्ष १० महिना काम गरेर पुनः रोजगारीका लागि अनुमति पाएका श्रमिक हुन विगत २ वर्षदेखि ३ हजार कमिटेड वर्कर र ७ हजार नयाँ श्रमिक गरी १० हजार युवा रोकिएको कोरियाको रोजगारी सुचारु हुने आशामा बसेका थिए ।

विश्वभरी महामारीका रुपमा फैलिएको कोभिड १९ को कारणले विगतमा लकडाउन भई अन्तर्राष्ट्रिय उडान समेत बन्द भएकोले दक्षिण कोरियामा नियमित तथा कमिटेड कामदारहरुको उडान प्रकृया रोकिएको थियो । ईपीएस अन्तर्गत हालसम्म करिब ७० हजार भन्दा बढी नेपाली युवा कोरिया पुगिसकेका छन् । तीमध्ये ३५ हजारको हाराहारीमा नेपाली युवा कोरियामा कार्यरत रहेका छन् ।

तुलनात्मक रुपमा नेपाली श्रमिकहरु कर्तव्यनिष्ठ, इमानदार, लगनशील र मेहनति भएकाले कोरियन रोजगारदाताको छनौटमा उच्च प्राथमिकतामा पर्ने गरेका कारण पनि कोरियन पक्ष बढीभन्दा बढी नेपाली श्रमिक लैजाने सम्बन्धमा सकारात्मक भएको छ । महामारीका कारण कोरियन सरकारले अन्य १२ देशबाट समेत कामदार माग गर्ने प्रक्रियामा रोक लगाएका बेला नेपाली श्रमिकले कोरिया प्रवेश पाएका थिए । नेपाली श्रमिकलाई कोरिया पठाउने प्रकृया सुचारु गर्नका लागि नेपाल सरकारको तर्फबाट विभिन्न चरणमा एचआरडी कोरिया समक्ष प्रयास गरेको थियो । सन् २०२० को मार्चबाट श्रम सम्झौता र भिसा इस्यू भएका १० हजार भन्दा बढी श्रमिक कोरिया जान नपाएर रोकिएका थिए ।

दक्षिण कोरियाले श्रमिक लैजाने क्रमसँगै हालै ५ वर्षयताकै सबैभन्दा बढी श्रमिक नेपालबाट लैजाने गरी पहिलो छनोट चरणको भाषा परिक्षाको आवेदन माग गरेको छ । ईपीएस शाखाले परीक्षा आवेदन दिने अन्तिम म्यादसम्म कृषि क्षेत्रतर्फ १० हजार ८५८ र उत्पादनमूलक क्षेत्रमा ३३ हजार ९९५ को आवेदन परेको जानकारी दिएको छ । विगत वर्षको तुलनामा कोरोनाका कारण बीच–बीचमा कोरिया जाने क्रम रोकिएका कारण कोरियाको रोजगारीप्रति युवाको आकर्षण घटेको देखिन्छ । कारोबार।