पर्यटकले गर्ने खर्च घट्यो, बसाइ अवधि बढ्यो
2022-06-24 17:41:16cri
Share with:

कोरोना महामारीपछि पर्यटक आगमन र बसाइ वृद्धि भए पनि दैनिक खर्च भने घटेको छ । आर्थिक सर्वेक्षण ०७८/०७९ अनुसार सन् २०२१ मा प्रतिपर्यटकको औसत बसाइ अवधि १५.५ दिन र प्रतिदिन प्रतिपर्यटक खर्च ४८ अमेरिकी डलर रहेको छ । सन् २०२० को तुलनामा बसाइ अवधि बढी हो भने प्रतिपर्यटक खर्च कम।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशित गरेको तथ्यांकअनुसार २०२० मा औसतमा खर्च प्रतिपर्यटक प्रतिदिन ६५ अमेरिकी डलर र बसाइ अवधि १५.१ दिन पुगेको थियो। २०२१ मा बसाइ अवधि वृद्धि भएर १५.५ दिन पुगेको छ। तर पर्यटकले गर्ने दैनिक खर्च भने ६५ अमेरिकी डलरबाट ४८ डलरमा सीमित भएको छ। यस्तो खर्च सन् २०२० को तुलनामा २६.१ प्रतिशत कम रहेको कारोबार अनलाइनले जनाएको छ।

कोभिड–१९ महामारीका कारण सन् २०२० मा पर्यटक आगमनमा अघिल्लो वर्षको तुलनामा करिब ८० प्रतिशतले कमी आएको थियो। सन् २०२० मा २ लाख ३० हजार पर्यटक आए। विगतका वर्षमा पर्यटक आगमन वृद्धि भए पनि पर्यटकको दैनिक खर्च र बसाइ अवधि कम थियो । सन् २०२१ मा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकबाट १३ अर्ब ५० करोड ११ लाख रुपैयाँ विदेशी मुद्रा आर्जन भएको छ । सन् २०२० मा २ लाख ३० हजार ८५ पर्यटक नेपाल आएकोमा सन् २०२१ मा यस्तो ३४.३ प्रतिशतले घटेर १ लाख ५० हजार ९ सय ६२ रहेको थियो । कोभिडका कारण पछिल्लो २ वर्षदेखि ओरालो लागेको पर्यटन क्षेत्र सन् २०२१ मा झन् ओरालो लागेको थियो। सन् २०२२ मा भने पछिल्लो ५ महिनामा २ लाख पर्यटकले नेपाल भ्रमण गरेका छन्।

सन् २०२१ मा विदेशी पर्यटकबाट प्राप्त भएको विदेशी मुद्रा आर्जन ४६.० प्रतिशतले घटेर १३ अर्ब ५० करोड ११ लाख रुपैयाँ रहेको छ । सन् २०२१ मा नेपाल भित्रिएका पर्यटकमध्ये ६६.८ प्रतिशत बिदा तथा मनोरञ्जन, १०.३ प्रतिशत पर्वतारोहण/साहसिक यात्रा/पदयात्रा, ७.४ प्रतिशत तीर्थयात्रा र १५.५ प्रतिशत अन्य विभिन्न उद्देश्यले नेपाल भ्रमण गरेका छन् ।

सन् २०१८ मा नेपाल भ्रमण गर्ने पर्यटकको वार्षिक संख्यामा वृद्धि भएको देखिए पनि पर्यटकले नेपालमा रहँदा गर्ने दैनिक खर्च भने घटेको थियो । विगत १० वर्षमा पर्यटन आगमनमा वृद्धि भएको तथ्यांकले देखाएको छ । सन् २०१६ मा नेपाल आएका विदेशी पर्यटकले १३.४ दिन बस्ने र दैनिक ५३ अमेरिकी डलर औषत खर्च गर्ने गरेका थिए भने सन् २०१७ मा आइपुग्दा बसाइ अवधि घटेर १२.६ दिन सीमित भएको थियो । दैनिक खर्च भने ५४ अमेरिकी डलर थियो।

पर्यटकको संख्या वृद्धिसँगै पर्यटन क्षेत्रबाट आम्दानी बढेर गएको छ । सन् २०१७ मा ६५ करोड ८० लाख, सन् २०१८ मा ७० करोड ३१ लाख, सन् २०१९मा ७२ करोड ४३ लाख ३७ आम्दानी भएको थियो । २०२० मा भने कोभिड महामारीका कारण २१ करोड ७० लाख अमेरिकी डलरमा झरेको छ । पर्यटन क्षेत्रबाट आर्जन हुने विदेशी मुद्रामा ७१ प्रतिशतले कमी आएको छ । यता सन् २०२१ मा भने आयमा अझ कम भएर १३ अर्ब ५० करोड ११ लाख रुपैयाँ मात्र विदेशी मुद्रा आर्जन भएको छ ।