सीपीसी विदेश विभाग प्रमुखद्वारा ओली र दाहालसँग छुट्टाछुट्टै भिडियो संवाद
2022-06-25 17:00:12cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभागका प्रमुख लिउ च्यानछाउले नेपालका दुई मुख्य कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसँग बिहीबार र शुक्रबार छुट्टाछुट्टै भिडियो संवाद गर्नुभएको छ। सोङ थाओको स्थानमा भूमिका निर्वाह गर्न आएका लिउको टोलीले माओवादी अध्यक्ष दाहालसँग बिहीबार र एमाले अध्यक्ष ओलीसँग शुक्रबार द्विपक्षीय कुराकानी गरेको हो।

 

नेपालले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने निर्णय गरेको केही दिनमै उत्तरी छिमेकबाट संवाद भएको हो। नेपालले सोमबार उक्त एसपीपी कार्यक्रमलाई अघि नबढाउने निर्णय गरेको थियो। जसलाई बिहीबार वेइजिङले प्रसंशायोग्य काम भन्दै टिप्पणी गरेको थियो।

 

संवादपछि शुक्रबार बेलुकी सीपीसीको विदेश विभागद्वारा जारी सूचनाअनुसार लिउले चीन र नेपाल हिमाल र नदीले जोडिएका मित्रवत् छिमेकीका साथै साझा भविष्यका विकास साझेदार भएको बताउनुभएको थियो। उहाँले सन् २०१९ को अक्टोबरमा सीपीसीका महासचिव सी चिनफिङको ऐतिहासिक नेपाल भ्रमणको स्मरण गर्नुभयो।

लिउले दुई देशका नेताहरूले गरेको महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न, राजनीतिक आपसी विश्वासलाई गहिरो बनाउन, ठूला परियोजनाहरूलाई सक्रिय रूपमा प्रवर्द्धन गर्न र ‘बेल्ट एण्ड रोड’को रूपरेखाअन्तर्गत विभिन्न क्षेत्रमा व्यवहारिक सहयोग गर्न चीन नेपालसँग काम गर्न इच्छुक रहेको बताउनुभयो। कान्तिपुर अनलाइनका अनुसार उहाँले हिमालयपारिको मित्रतालाई नयाँ उचाइमा पुर्‍याइएको पनि उल्लेख गर्नुभयो। लिउले सीपीसी, माओवादी केन्द्र र एमालेको समान अवधारणा र भावनाहरू रहेको उल्लेख गर्दै अन्तरपार्टी आदानप्रदानलाई सुदृढ गर्न, पार्टीहरु बीचको सहयोग प्रवर्द्धन गर्न, जनता–जनताको सम्बन्धलाई बढाउन इच्छुक रहेको बताउनुभयो।

लिउले यस वर्षको दोस्रो खण्डमा सीपीसीको २०औं राष्ट्रिय महाधिवेशन अर्को चरणमा चीनको विकासको खाका तयार गर्न आयोजना हुने तथा यसले चीन–नेपाल सम्बन्धको विकासमा नयाँ गति दिने बताउनुभयो।

 

संवादका दौरानमा ओली र दाहाल दुवैले नेपाल र चीनबीचको मित्रता चिरस्थायी रहेको बताउनुभयो। ओली र दाहालले चीन र नेपालको कम्युनिष्ट पार्टीसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिँदै कुनै पनि शक्तिलाई चीनविरोधी गतिविधिमा संलग्न हुन नेपाली भूमि प्रयोग गर्न कहिल्यै पनि अनुमति नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो। दुवैले चिनियाँ सीपीसीको २०औं राष्ट्रिय महाधिवेशनको पूर्ण सफलताको अपेक्षा र कामना समेत गर्नुभयो। संवादपछि एमाले र माओवादीले छुट्टाछुट्टै सीपीसीका प्रतिनिधिसँग दुई पार्टीबीच आदानप्रदान र सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको बताइएको छ।

यसअघि एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा र सीपीसीबीच लगातार संवाद र साझेदारी भएको थियो। तर पछि नेकपामा विवाद आएपछि सर्वोच्च अदालतले दुई पार्टीलाई पुरानै अवस्थामा पुर्‍याइदियो। त्यसपछि सीपीसीले एमाले र माओवादीलाई छुट्टाछुट्टै संवाद र सहकार्य गरिरहेको छ।