नेपाली महिला क्रिकेट टिम स्वदेश फिर्ता
2022-06-27 16:22:34cri
Share with:

एसीसी महिला टी–२० च्याम्पियनसिप खेलेर नेपाली महिला क्रिकेट टिम स्वदेश फर्किएको छ। नेपाली टिम सोमबार बिहान नेपाल आइपुगेको हो। समूह बीका तीन खेल जितेर उपविजेता हुँदै सेमिफाइनलमा पुगेको नेपाल युएईसँगको खेल वर्षाले रोकिएपछि फाइनलमा पुग्न सकेको थिएन।

पहिलो खेलमा भुटानलाई ५० रन, दोस्रोमा कुवेतलाई २५ रन र तेस्रो खेलमा बहराइनलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको अनलाइन खबरले लेखेको छ। नेपालले समूह चरणको अन्तिम खेलमा हङकङसँग ७ विकेटले पराजित भएको हो। समूह चरणमा राम्रो प्रदर्शन गरेको नेपालले सेमिफाइनलमा युएईसँगको खेल वर्षाका कारण गुमाउन पुग्यो।

किनरारा मैदानमा टस जितेर फिल्डिङमा उत्रेको नेपालले युएईलाई ८१ रनमा अलआउट पारेको थियो। तर नेपालले ब्याटिङ्ग नै गर्न पाएन। युएई समूहको विजेता भएका कारण फाइनलमा स्थान बनायो, नेपाल सेमिफाइनलबाट नै बाहिरिन पुगेको हो।

अस्मिना कर्मचार्यको उत्कृष्ट ५ विकेटसहितको बलिङले नेपालले युएईलाई रोकेको थियो। यससँगै नेपालले २०२३ मा हुने एसियन कपमा भाग लिने अवसर गुमाएको छ।