चीनसँगको नेपालको व्यापारघाटा २ खर्ब ४३ अर्ब रुपैयाँभन्दा बढी
2022-06-28 18:12:09cri
Share with:

नेपालको वैदेशिक व्यापारका मुख्य दुई साझेदार मुलुकमध्ये भारतभन्दा चीनसँगको व्यापारघाटा अनुपात बढ्दै गएको छ। भारतबाट आयातसँगै निर्यात पनि बढ्दो क्रममा छ, तर चीनसँगको व्यापार भने एकपक्षीयजस्तै देखिएको कारोबार अनलाइनले लेखेको छ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिना (जेठ) सम्ममा नेपाल र चीनबीच २ खर्ब ४४ अर्ब ९५ करोड ५ लाख १४ हजार रुपैयाँबराबरको व्यापार भएको छ। जसमा चीनबाट नेपालमा २ खर्ब ४४ अर्ब २१ करोड १४ लाख ३९ हजार रुपैयाँ बराबरको वस्तु आयात भए पनि नेपालले चीनतर्फ भने जम्मा ७३ करोड ९० लाख ७५ हजार रुपैयाँको निकासी गर्न सकेको छ। यसरी चीनसँगको व्यापारमा नेपालले २ खर्ब ४३ अर्ब ४७ करोड २३ लाख ६३ हजार रुपैयाँ घाटा बेहोरेको छ।
भारतसँगको व्यापारमा परिमाणात्मक हिसाबले व्यापारघाटा बढी देखिए पनि प्रतिशतका आधारमा चीनभन्दा केही सन्तुलित देखिन्छ। विभागका अनुसार जेठसम्म भारतबाट नेपालले ११ खर्ब ९० करोड ३६ लाख ७१ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ भने १ खर्ब ४५ अर्ब ९० करोड १३ लाख २२ हजार रुपैयाँ बराबरको निकासी गरेको छ। भारतसँग नेपालको व्यापारघाटा ९ खर्ब ५५ अर्ब २३ लाख ४९ हजार रुपैयाँ रहेको देखिन्छ।
विभागको तथ्यांकअनुसार भारतसँग नेपालले कुल व्यापारमा ११.७ प्रतिशत निकासी र ८८.२९ प्रतिशत आयातको हिस्सा देखिन्छ। तर, चीनसँगको व्यापारमा भने निकासीको हिस्सा ०.३ प्रतिशतमात्र रहेको छ। चीनसँगको द्विपक्षीय व्यापारमा आयातको हिस्सा ९९.६९ प्रतिशत रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको वैशाखसम्म भारततर्फको निकासी ७२.९ प्रतिशतले वृद्धि हुँदा चीनतर्फको निर्यात भने २४.९ प्रतिशतले घटेको छ। नेपालको वैदेशिक व्यापारको सन्तुलन सुधारको दिशामा रहेको र अन्य मुलुकतर्फको निकासी समेत वृद्धि हुँदै गइरहेको छ। केन्द्रीय बैंकका अनुसार सोही अवधिमा चीन बाहेकका अन्य मुलुकतर्फको निकासीमा २५.६ प्रतिशतले वृद्धि भएको छ। नेपालबाट भारततर्फ पाम आयल, सोयाविन आयलसहित अलैंची, अदुवा, चियाजस्ता कृषिजन्य वस्तु निकासी हुँदै आएको छ। यसबाहेक जडिबुटीजन्य वस्तु पनि ठूलो परिमाणमा निकासी हुँदै आएको छ। चीनतर्फ भने कुकुर र बिरालोको खाना डग च्युसहित सौन्दर्य प्रशोधन, अगरबत्ती, साबुन, पेट बोटल, केही छालाजन्य सामग्री निकासी हुँदै आइरहेको छ।

नेपाल र चीनबीचको व्यापार ओरालो लाग्नुमा सीमा अवरोध मुख्य समस्याका रुपमा देखिएको छ। चीनसँगको पुरानो नाका तातोपानी वर्षौंसम्म बन्द रहेको र हाल सीमित रुपमा मात्र खोलिएको छ भने वैकल्पिक नाका मानिएको केरुङमा सडकलगायत पूर्वाधारकै समस्या रहेको व्यापारमा सम्वद्ध व्यवसायीहरु बताउँछन्।
भन्सार विभागका अनुसार जेठसम्म तातोपानी नाकाबाट १२ अर्ब ४४ करोड मूल्यका सामान आयात हुँदा निकासी भने शून्यप्रायः छ। यस्तै, रसुवा नाकाबाट २४ अर्ब ६७ करोड ६६ लाखको सामान आयात भएको र निकासी भने शून्य रहेको उल्लेख छ। चीनतर्फ जाने सामग्रीहरु हवाई मार्ग तथा कोलकता नाका हुँदै निकासी हुने गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ केरुङ नाकामा सडक, गोदाम लगायतका पूर्वाधारको समस्या रहेको र यसले व्यापार प्रभावित भएको बताउनुहुन्छ। चीनसँगको व्यापारमा सम्भावना प्रचुर रहे पनि यसबाट नेपालले फाइदा लिन नसकेको उहाँको भनाइ छ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठ चीनसँगको व्यापारमा कमी आउनुमा प्राकृतिक कारण देखाइए पनि यसमा कूटनीतिक कमजोरी पनि रहेको बताउनुहुन्छ। “नेपालका समस्या के हुन् भन्ने विषयमा सरकारमा बस्ने सबैलाई थाहा छ। तर पनि समाधान किन भइरहेको छैन ? मुख्य कुरा यही हो,” उहाँले भन्नुभयो।