भूकम्पपछि चीन सरकारद्वारा सहायता गरिएको पहिलो खेपको उद्धार सामग्री अफ्गानिस्तानमा
2022-06-28 14:30:28CRI
Share with:

अफ्गानिस्तानलाई चीन सरकारले सहायता गरेको पहिलो खेपको भूकम्प राहत सामग्री जुन २७ तारिख अफगानिस्तानको राजधानी काबुल पुगेको छ। अफगानिस्तानका लागि चिनियाँ राजदूत वाङ युले अफ्गानिस्तानको अन्तरिम सरकारको राष्ट्रिय प्रकोप व्यवस्थापन तथा मानवीय मामिलाका कार्यवाहक मन्त्री अलामलाई उक्त राहत सामग्री काबुल विमानस्थलमा आयोजित हस्तान्तरण कार्यक्रममा हस्तान्तरण गर्नुभएको छ।

जुन २२ तारिख दक्षिणपूर्वी अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पबाट एक हजारभन्दा बढीको मृत्यु हुनुका साथै दुई हजारभन्दा बढी घाइते भएका थिए। साथै हजारौँ घरआवास ध्वस्त भएका थिए। हस्तान्तरण समारोहमा राजदूत वाङ युले भूकम्पपछि चीन सरकारले तत्कालै प्रकोपग्रस्त क्षेत्रलाई ५ करोड युआनको आपतकालीन मानवीय सहायता उपलब्ध गराउने निर्णय गरेको बताउनुभयो। सोही बमोजिम पाल, फोल्डिङ बेड र कम्बललगायतका पहिलो खेपका सामग्री अफगानिस्तान आइपुगेको तथा आगामी तीन दिनमा अरू ६ वटा चिनियाँ विमानमार्फत् निरन्तर रूपमा प्रकोप राहत सामग्री पुर्‍याउने पनि जानकारी दिनुभयो। साथै केही दिनअघि नै चीनले अफगानिस्तानलाई सहयोगको वाचा गरेअनुसार सबै खाद्यान्न सामग्री पुग्नुकासाथै वितरण भइरहेको छ।

चीनले भूकम्पपछि तुरुन्तै अफ्गानिस्तानप्रति समवेदना प्रकट गर्दै आपत्कालीन सहायता सामग्री उपलब्ध गराएकोमा अफगानिस्तानले चीनलाई हार्दिक धन्यवाद ज्ञापन गरेको मन्त्री अलामले बताउनुभएको छ। चीनको यो सहयोग दुई देशबीचको हजारौँ वर्षदेखिको मित्रताको उत्कृष्ट प्रदर्शन भएको पनि बताउनुभयो। अफगानिस्तानकालागि अत्यावश्यक यी राहत सामग्री तुलनात्मक रूपमा गम्भीर प्रकोपग्रस्त क्षेत्रमा वितरण गरिने छ।