बूढीगण्डकी जलविद्युत आयोजना अब कम्पनी मोडेलमा
2022-06-29 16:29:50cri
Share with:

बूढीगण्डकी जलविद्युत् आयोजना अब कम्पनी मोडेलमा बन्ने भएको छ । नेपालको मन्त्रिपरिषद्को मङ्गलबार सम्पन्न बैठकले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बूढीगण्डकी जलाशययुक्त आयोजनालाई कम्पनी मोडेलमा निर्माण गर्ने निर्णय गरेको गोरखापत्र अनलाइनले लेखेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा बैठकले कुल एक हजार दुई सय मेगावाट क्षमताको आयोजना कम्पनी मोडेलमा निर्माण गर्ने निर्णय गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जानकारी दिनुभयो । यसअघि सो आयोजना चीनको गेजुवा कम्पनीलाई दिइएकोमा उक्त कम्पनीले काम नगरेपछि फिर्ता गरिएको थियो । हालसम्म आयोजना प्रभावितका लागि मात्रै ४० अर्ब रुपियाँ बराबरको मुआब्जा वितरण गरिसकिएको छ ।

अब भने अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र सर्वसाधारणको लगानीको कम्पनी स्थापना भई त्यसैमार्फत आयोजना अगाडि बढाइने छ । कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपियाँ रहनेछ । कम्पनीमा अर्थ मन्त्रालयको २५ प्रतिशत बराबरको सेयर हिस्सा रहनेछ । त्यो भनेको १५ करोड कित्ता बराबर रहनेछ । कम्पनीको अधिकृत पुँजी ६० अर्ब रुपियाँ हुनेछ । कम्पनीको तत्काल जारी पुँजी २० अर्ब रुपियाँ बराबरको हुनेछ ।

ऊर्जा मन्त्रालयको ४० प्रतिशत बराबर र नेपाल विद्युत् प्राधिकरणको १४ प्रतिशत, विद्युत् उत्पादन कम्पनीको एक प्रतिशत र स्थानीयवासीको १० प्रतिशत सेयर हिस्सा रहनेछ । कम्पनीको सञ्चालक समिति सात जनाको रहने छ जसमा सरकारको तर्फबाट तीन जना, ऊर्जा मन्त्रालयका सचिव, ऊर्जा र अर्थ मन्त्रालयका एक-एक जना राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक र स्वतन्त्र सञ्चालक रहने व्यवस्था गरिएको छ ।

स्वतन्त्र सञ्चालकमा एक जना महिला अनिवार्य गरिएको छ । संस्थापक सञ्चालकबाहेक अन्य सञ्चालकको कार्यकाल पाँच वर्षको हुनेछ । तीमध्ये वित्त र जलस्रोत विशेषज्ञ पनि रहनु पर्नेछ । सन् २०१४ मा फ्रान्सेली कम्पनी ट्याक्टबेलले सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएको थियो । आयोजनाका लागि भनेर नै पूर्वाधार कर लगाएर नेपाल आयल निगममार्फत ७० अर्ब रुपियाँभन्दा बढी सङ्कलन गरिएको थियो ।