नेपालबाट चीन जाने यात्रुले काठमाडौँमा होटल क्वारेन्टाइन बस्न नपर्ने
2022-07-01 16:14:04cri
Share with:

नेपालबाट चीन जाने यात्रुहरुका लागि क्वारेन्टाइनको नियम खुकुलो बनाइएको छ। चीनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बोर्डिङ पास लिनुअगाडि काठमाडौँमा लगातार बस्नुपर्ने पाँच दिनको तारे होटल क्वारेन्टाइनको नियम बिहीबारदेखि लागू हुने गरी पूर्णरुपमा हटाएको नेपाल समाज अनलाइनले लेखेको छ।

काठमाडौँस्थित चिनियाँ राजदूताबासद्वारा चिनियाँ भाषामा प्रकाशित सूचनाअनुसार यसअघि पीसीआर र एन्टिजीन परीक्षणमा लगाइएको सिन्डिकेट पनि हटाइएको छ। अब नेपाल सरकारबाट मान्यताप्राप्त कुनै पनि प्रयोगशालाको परीक्षणलाई चीनले स्वीकार गर्ने भएको छ। यसअघि दुईवटा निजी अस्पताल ह्याम्स र स्टारको रिपोर्टलाई मात्रै मान्यता दिँदै आएको थियो।

नयाँ नियमअनुसार बोर्डिङ्ग पास लिनुभन्दा ४८ र २४ घण्टा अगाडि दुई पटक मात्र पीसीआर र एन्टिजिन परीक्षण गरे पुग्ने भएको छ। तर यी दुई परीक्षण पनि छुट्टाछुट्टै प्रयोगशालामा गर्नुपर्ने बताइएको छ। यसअघि दुई हप्ताअगाडिको परीक्षण रिपोर्टसमेत पेश गर्नुपर्ने प्रावधान थियो।

तेस्रो मुलुकबाट चीन जान कम्तिमा २८ दिन नेपाल बस्नुपर्ने नियम पनि बिहीबारबाटै रद्द गरिएको छ। तेस्रो मुलुकका यात्रुले कोरोनाको परीक्षण गरेर सम्बन्धित मुलुकमा रहेको चिनियाँ नियोगबाट हेल्थ कोर्ड प्राप्त गरेपछि नेपाल हुँदै सीधै चीनतर्फ उडान भर्न पाउने छन्।

काठमाडौँबाट चीनको खुन्मिङका लागि नियमित उडान गर्दै आइरहेको नेपाल चीन संयुक्त लगानीको हिमालय एअरलाइन्सले काठमाडौँको होटल क्वारेन्टाइनको शुल्क बुझाइसकेका यात्रुहरुलाई पैसा फिर्ताको लागि उसको विक्री काउन्टरमा सम्पर्क गर्न अनुरोधसमेत गरेको छ।

चीनले उसको मुलुक प्रवेश गरिसकेपछिको क्वारेन्टाइन अवधि दुई हप्ताबाट झारेर केही दिनअगाडि मात्रै एक हप्तामा सीमित गरेको छ।