चिनियाँ अनुदानमा पुनर्निमिर्त बसन्तपुरको नौतले दरबार मंसिरमा खोल्ने तयारी
2022-07-01 16:12:32cri
Share with:

चीन सरकारको अनुदानमा पुनर्निर्माण भइरहेको वसन्तपुरस्थित नौतले दरबार आगामी मङ्सिरमा सर्वसाधारणका लागि खोल्ने तयारी भइरहेको छ। हनुमानढोका दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दीप खनालले आगामी मङ्सिरसम्ममा पुनर्निर्माणका सबै काम सम्पन्न भई सर्वसाधारणको लागि खुला हुने जानकारी दिनु भएको नेपाल समाज अनलाइनले लेखेको छ।

नौं तले दरबारको अधिकांश काम सकिएसँगै स्काफोल्डिङ निकालिएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको प्रमुख आकर्षक नौतले दरबार वरपर घुम्न सक्नेगरी सबै संरचना हटाइसकिएको छ। ५ प्रतिशत काम मात्र बाँकी रहेको जानकारी दिँदै खनालले– ‘सोकेस र लाईटिङ जडानबाहेक सबै काम सम्पन्न भएको छ।’ चीन सरकारको सहयोगमा जारी दरबारको पुनर्निर्माण कार्य सम्झौता अवधि अर्थात आगामी मङ्सर ६ गतेभित्रै सम्पन्न हुने अपेक्षा गरिएको छ।

विभागका महानिर्देशक दामोदर गौतमका अनुसार पुनर्निर्माणसँगै लाइटिङ र सोकेर निर्माण गर्न निर्माण कम्पनीलाई नै आग्रह गर्ने तयारी भइरहेको छ। विभागले वसन्तपुर दरबार पुनर्निर्माण लगत्तै डिस्प्ले विद्युतीकरणदेखि लाइटिङ, सीसीटिभीलगायत उच्च प्रविधि जडान गर्न निर्माण कम्पनीलाई आग्रह गरेको र निर्माण कम्पनीबाट सकरात्मक जानकारी प्राप्त भएको जनाएको छ।

महानिर्देशक गौतमले सबै काम सकिएलगत्तै संग्रहालयका समाग्री यथास्थानमा राखेर सर्वसाधारणको लागि नौतले दरबार खुला गरिने बताउनुभयो। चीन र नेपाल सरकारबीच २०७३ पुस १६ मा २०७२ सालको भूकम्पले पूर्ण क्षतिग्रस्त नौतले दरबारसँगै कीर्तिपुर, भक्तपुर र काठमाडौं टावर पुनर्निर्माण गर्ने सम्झौता भएको थियो।

विभागका महानिर्देशक गौतमले पुनर्निर्माण सकिएलगत्तै उक्त संरचनाभित्र त्रिभुवन, महेन्द्र र वीरेन्द्र संग्रहालयका सामग्री राखिनेछ। उनले नौतले दरबारभित्र नयाँ सजावटसँगै गहना र अन्य हातहतियार संग्रहालयसमेत राख्ने तयारी भइरहेको जानकारी दिँदै भन्नुभयो– ‘थप सजावटका साथ पर्यटकलाई आकर्षित गर्नेगरी नयाँ सोकेस र लाइटिङ प्रणाली जडान गरी संग्रहालय खुला गर्ने अन्तिम तयारीमा छौँ।’

निर्माण सम्पन्न भएर बिदा हुनुअघि नेपाल सरकारले चिनियाँ कम्पनीलाई परियोजना पुनर्निर्माण सम्पन्न भएको १० दिनभित्र प्रमाणपत्र दिनुपर्ने, पुनर्निर्माण सम्पन्न भएपछि दुई वर्षसम्म चिनियाँ पक्षले अनुगमन गर्ने सम्झौतामा उल्लेख छ।

त्यस्तै, सम्झौतामा दुवै पक्षको सहमतिबिना परियोजनासँग सम्बन्धित नक्सांकन, डिजाइन तेस्रो पक्षलाई दिन नपाइनेलगायतका विषय पनि उल्लेख छ। यसअघि चीन सरकारको तर्फबाट नेपालमा दरबार हाइस्कुल पुनर्निर्माण सम्पन्न भइसकेको छ भने नुवाकोटको सात तले दरबार पुनर्निर्माण हुने चरणमा छ।

चीन सरकारको एजेन्सी फर इन्टरनेसनल इकोनोमिक कोअपरेसनको आर्थिक र प्राविधिक सहयोगमा २०७४ मा सम्झौता भई निर्माण शुरू भएको थियो। वसन्तपुर दरबार परिसरको ५ हजार ६ सय वर्गमिटर क्षेत्रको संरक्षण गर्न ९ करोड ५० लाख चिनियाँ युआन अर्थात् करिब २ अर्ब नेपाली रुपियाँमा निर्माण सम्झौता भएको हो। टर्न कि परियोजनाअन्तर्गत नौतले दरबार पुनर्निर्माण सम्पन्न हुन लगभग ५ महिना लाग्नेछ।