६ महिनामा भित्रिए २ लाख ३७ हजार बढी पर्यटक
2022-07-04 15:53:38CRI
Share with:

कोरोना भाइरस (कोभिड-१९) को महामारी घट्दै जानु र यात्रामाथिको प्रतिबन्धहरु फुकुवा हुँदै जाँदा पर्यटक आगमनमा उत्साहजनक सुधार देखिएको छ । सन् २०२२ को ६ महिना (जनवरी–जुन) मा २ लाख ३७ हजार ६९६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जुन महिनामा मात्र ४६ हजार ९५७ जना पर्यटक नेपाल आए । यो सन् २०१९ को तुलनामा ६९.३ प्रतिशत हो । सो वर्ष कोरोना महामारी थिएन । उक्त वर्ष जुनमा ६१ हजार ३५१ जना पर्यटक नेपाल आएका थिए ।

जुलाई २०२० मा ७६ र जुलाई २०२१ मा १ हजार १४३ जना पर्यटक नेपाल आएका थिए। यी वर्ष कोरोना भाइरसको महामारीले यात्रामा प्रतिबन्ध लागेको थियो। यो तथ्यांक हवाईमार्गबाट आएका पर्यटकको हो । नेपालले स्थलमार्गबाट आउने भारतीय नागरिकलाई पर्यटकका रुपमा गणना गर्दैन ।

अनलाइनखबरका अनुसार जुन महिनामा आएका कुल पर्यटकमध्ये आधा भारतीय छन् । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार जुन महिनामा २३ हजार २४८ जना भारतीय पर्यटक आएका छन् । यो संख्या कुल आगमनको ४९.५ प्रतिशत हो।

दोस्रो स्थानमा अमेरिका रहेको छ । अमेरिकाबाट एक महिनामा ८ हजार ३५१ जना पर्यटक आएको देखिएको छ । बंगलादेशबाट २ हजार ५९ जना पर्यटक नेपाल आउँदा बेलायतबाट २ हजार २ जना पर्यटक आएका छन्। चीनले पर्यटकका रुपमा आफ्ना नागरिकलाई भ्रमण खुला नगर्दा यो मुलुकबाट एक महिनाको अवधिमा मात्र ४५१ जना भित्रिएको तथ्यांक छ ।