आयात प्रतिस्थापन गर्न उद्योग स्थापना
2022-07-05 16:18:24CRI
Share with:

मुलुककै ठूलो र पहिलो स्वचालित आलु उद्योग स्थापना हुने भएको छ। रुपन्देहीको शुद्धोधन गाउँपालिकाको मैनहियामा स्थापना हुन लागेको यो उद्योग वातानुकूलित हुने बताइएको छ। रुपन्देहीका उद्योगी कृष्ण पौडेलले स्थापना गर्न लाग्नुभएको फस्र्ट च्वाइस फुड प्रालिले आलुबाट फ्रेन्च फ्राई उत्पादन गर्नेछ। “जर्मन प्रविधिमा आधारित यो उद्योगले अबको छ महिनामा उत्पादन सुरु गर्नेछ । यो उद्योगको उत्पादन क्षमता प्रतिघण्टा दुई हजार केजी रहेको छ भने यसबाट १५० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउनेछन्,” उहाँले भन्नुभयो। उद्योग ६० हजार वर्गफिटमा निर्माण भइरहेको छ । 

हाल वार्षिक १२ अर्ब रुपियाँ बराबरको आलुका परिकार आयात भइरहेको अवस्थामा यो उद्योगले करिब छ अर्ब रुपियाँको आयात घटाउन योगदान गर्ने उद्योगी पौडेलले बताउनुभयो । यो उद्योगबाट माघदेखि उत्पादन सुरु गर्ने लक्ष्य रहेको बताइएको छ । यो उद्योगले फ्रेन्च फ्राई मात्र होइन, आलुका फ्रोजन फुडमध्ये नुडल्स, चिप्स, स्टार्च, आलु परौठा, समोसालगायत तीन दर्जन उपभोग्य वस्तु उत्पादन गर्नेछ ।

गोरखापत्र अनलाइनका अनुसार फ्रेन्च फ्राई उत्पादनका लागि ठूलो आकारको आलु चाहिने र त्यो नेपालमा उत्पादन नहुने भएकाले उहाँले हल्यान्डबाट आलुको बीउ ल्याएर यहाँ खेती गराउनुभएको छ । पौडेलले गत वर्ष करिब एक सय केजी बीउ ल्याएर परीक्षण खेती गर्नुभयो । यहाँ गरिएको आलुको खेतीबाट राम्रो उत्पादन भएको र हल्यान्डबाट आएका प्राविधिकले प्रशंसा गरेको उहाँले बताउनुभयो ।