नेपालसँग सम्पर्क बढाउन चीनको क्विचौ प्रान्त इच्छुक
2022-07-05 15:57:20CRI
Share with:

चीनको क्विचौ प्रान्तले नेपालसँग आर्थिक, व्यापारिक तथा सांस्कृतिक सम्बन्ध स्थापनाका लागि प्रस्ताव गरेको छ । निकटवर्ती प्रान्त सिचुवानस्थित नेपाली महावाणिज्य दूतावासका प्रतिनिधिलाई आफ्नो प्रान्तको भ्रमण गराएर क्विचौ प्रान्तका विभिन्न विभागले नेपालसँग सहकार्यका लागि प्रस्ताव राखेका हुन्। 

क्विचौ प्रान्तीय वैदेशिक मामिला कार्यालयका महानिर्देशक चाङ हानलिन र क्विचौ प्रान्तीय वाणिज्य विभागका महानिर्देशक एवं प्रादेशिक लगानी प्रवर्द्धन ब्यूरोका निर्देशक मा लेई सहितको प्रतिनिधि मण्डलले फरक फरक बैठकमा यस्ता संभावनाहरू अगाडि सारेको कान्तिपुर अनलाइनले जनाएको छ। 

चाइना साउदर्न एयरलाइन्समा लगानी रहेको क्विचौले नेपालसँग सिधा उडान गर्दै बुद्धधार्मिक सहकार्य, शैक्षिक छात्रवृत्ति, लगानी लगायतमा नेपालसँग मिलेर अघि बढ्ने बताएको हो । ‘क्विचौ प्रान्तमा एउटा थोङ् रन् भन्ने ठाउँ भविष्यका बुद्धको उत्पत्तिस्थल भन्ने आस्थाका कारण प्रख्यात रहेछ, महावाणिज्यदूत दिनेश कुमार घिमिरेले भन्नुभयो, ‘बौद्ध धर्मको आधारमा थोङरन र नेपालको लुम्बिनीको कुनै ठाउँबीच भगिनी सम्बन्ध स्थापित गरेर सीधा उडान मार्फत् जोडिने चिनियाँ अभिरुचि देखिन्छ।’ 

भेटवार्तामा नेपाली प्रतिनिधि मण्डलले नेपालको पर्यटकीय संभाव्यताबारे जानकारी गराएको थियो । साथै हस्तकला, चिनियाँ लगानी, सोलार तथा स्वच्छ ऊर्जामा लगानीका पर्याप्त संभावना रहेको बारेमा पनि जानकारी गराइएको महावाणिज्यदूत घिमिरेले बताउनुभयो। 

भेटवार्तामा क्विचौ वैदेशिक मामिला कार्यालयका महानिर्देशक चाङ हानलिनले विकट भौगोलिक अवस्थितिका बाबजुद क्विचौले एक दशकमा गरेको गरिबी निवारणको अनुभव नेपालसँग बाँड्न सकिने बताउनुभयो। चिनियाँ संचारमाध्यमहरूका अनुसार क्विचौ नै चीनको गरिबी निवारण भएको सबैभन्दा अन्तिम प्रान्त हो। चीनले सन् २०२० भित्र गरिबी निवारणको लक्ष्य लिएको थियो। सोही वर्षको अन्तिमतिर मात्रै क्विचौ प्रान्तले बाँकी रहेका ९ वटा गाउँहरूलाई गरिबीको सूचिबाट हटाएपछि चीनले गरिबी निवारणको लक्ष्य साकार भएको उद्घोष गरेको थियो।

त्यस्तै वाणिज्य महानिर्देशक मा लेईले जलवायु परिवर्तन, आईटी तथा बिग डेटा, शैक्षिक, साँस्कृतिक, पर्वतीय खेलकुद लगायत पाँच वटा विषयमा नेपालसँग सहकार्यको संभाव्यता प्रस्तुत गरेको प्रतिनिधि मण्डलमा सहभागी वाणिज्यदूत मनहरी दंगालले बताउनुभयो। 

सो क्रममा नेपाल र चीनबीच पछिल्ला वर्षहरूमा अन्तरदेशीय पर्यटन, आयात निर्यात व्यापारमा उल्लेखनीय सहयोगको नतिजा हासिल भएको बताउँदै गरिबी निवारण र आम्दानी वृद्धिका लागि व्यापार र लगानी महत्त्वपूर्ण माध्यम हुनेबारे छलफल भएको थियो।

शुक्रबार भएका ती बैठक र भेटवार्ताहरूमा चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य, क्विचौ प्रान्तीय वैदेशिक विभागहरू, उद्योग वाणिज्य प्रतिनिधिहरू लगायत सहभागी थिए।