नवनिर्मित चोभार सुक्खा बन्दरगाहबाट आयात बढ्दै
2022-07-07 15:49:55CRI
Share with:

सरकारले निकै महत्व दिएर अघि बढाएको परियोजना काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह सञ्चालनमा आएको तीन महिना पुगेको छ। चोभारस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार यसबाट हालसम्म सवा ७ करोड रुपैयाँभन्दा बढी मूल्यका सामान आयात भए पनि निर्यात भने शून्य छ। 

चैत २२ गते प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको चोभारस्थित सुक्खा बन्दरगाह विधिवत् सञ्चालनमा आएको बुधबार तीन महिना पूरा भएको छ। यो अवधिमा सुक्खा बन्दरगाह भएर ७ करोढ ३९ लाख ९३ हजार रुपैयाँ बराबरको सामग्री आयात भएको छ। 

भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काका अनुसार जेठ महिनामा भने ४ करोड १३ लाख ८७ हजार रुपैयाँ बराबरको सामग्री यो बन्दरगाह हुँदै भित्रिएका छन्। जेठ मसान्तसम्म यो बन्दरगाहबाट ७ करोड ३९ लाख ९३ हजार रुपैयाँ बराबरको सामग्री आयात भएपनि निर्यात शून्य छ। भन्सार एजेन्टहरुको अभाव तथा अन्य पूर्वाधारमा समस्याका कारण यो भन्सार रोजाइमा पर्न नसकेको व्यवसायीहरु बताउँछन्। आउने दिनमा यो भन्सारबाट निकासी हुने सम्भावना रहेपनि तत्काल भने वीरगन्ज, भैरहवा, विराटनगर, मेचीनगरजस्ता पुराना भन्सारको स्थान चोभारस्थित सुक्खा बन्दरगाह भन्सारले लिन नसक्ने व्यवसायीहरुको भनाइ छ। चोभारस्थित सुक्खा बन्दरगाह काठमाडौं र तराई जोड्ने निर्माणाधीन द्रुतमार्ग परियोजना बनेपछि पूर्ण क्षमतामा सञ्चालनमा आउनसक्ने सरकारी अधिकारीहरु बताउँछन्। कारोबार अनलाइनका अनुसार बन्दरगाहमा ५ सयवटा मालवाहक गाडी, तीन धर्मकाटा सहित पूर्ण सुविधा रहेको छ । सरकारले व्यापार लागत न्यूनीकरण गर्न यसले सहयोग गर्ने अपेक्षा राखे पनि तत्कालको अवस्थाले भने यो भन्सार कार्यालयले सञ्चालन खर्चसमेत धान्न नसक्ने अवस्था छ। हिमाल सिमेन्टको कारखाना रहेको चोभारको जग्गामा निर्माण भएको सुक्खा बन्दरगाह लामो प्रयासपछि निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो । बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिन काठमाडौंको चोभारमा सुक्खा बन्दरगाह बनाइएको हो । बन्दरगाह निर्माणका लागि सरकार र विश्व बैंकबीच सन् २०१३ भएको सहमति अनुसार सन् २०१९ भित्रै काठमाडौं सुक्खा बन्दरगाह निर्माण सम्पन्न हुनुपर्नेमा कोरोना, निर्माण सामग्रीको उपलब्धतामा भएको केही कठिनाइ लगायतका कारणले केही ढिला भएको थियो। 

कोभिड–१९ को महामारी र बन्दाबन्दीकै बीच निर्माण कार्य भएर उद्घाटन भएपछि सो बन्दरगाह अब सञ्चालनमा आएको हो । यो बन्दरगाहलाई भारतको रक्सौलबाट र चीनको केरुङबाट आउने रेलमार्ग तथा बाहिरी चक्रपथसँग जोड्ने योजना सरकारको छ । बन्दरगाह सञ्चालनका लागि चाहिने भन्सार भवन, क्वारेन्टाइन (खाद्यवस्तुको गुणस्तर तथा विषादी मिसावट जाँच गर्ने) भवन र प्रशासनिक भवन रहेका छन् । काठमाडौं आएका मालवाहक गाडी सिधै यो बन्दरगाहमा जाँचपास हुने सुविधा रहेको छ ।