अर्थतन्त्रको पुनर्जीवनबारे छलफल
2022-07-07 15:51:38CRI
Share with:

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको संयुक्त आयोजनामा अर्थतन्त्रबारे उच्चस्तरीय छलफल भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले अर्थतन्त्र अहिले अप्ठ्यारो अवस्थामा रहेकाले सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो। राज्यमन्त्री श्रेष्ठले पेट्रोलियम पदार्थको आयात र उपभोगको दर बढ्दै जाँदा विदेशी मुद्रा सञ्चितिमा ह्रास आएको बताउनुभयो।    

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले अर्थतन्त्रमा देखिएको असहजताप्रति चिन्ता प्रकट गर्दै कृषि तथा वनमा आधारित उत्पादनको गुणस्तरमा सुधार गर्ने बताउनुभयो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले व्यापार र लगानीको लागि भन्सार प्रशासनमा सुधार गर्नुपर्ने बताउनुभयो।

अन्नपूर्णपोस्ट अनलाइनका अनुसार सिबिफिनका अध्यक्ष पवन कुमार गोल्यानले अर्थतन्त्र अहिले गम्भीर अवस्थामा रहेकाले अहिलेको संकट समाधानका लागि सबै एक ढिक्का भएर लाग्नुपर्ने बताउनुभयो। ईपानका पूर्व अध्यक्ष शैलेन्द्र गुरागाईले जलविद्युत क्षेत्रमा निजी क्षेत्रलाई अनुमति दिइनुपर्ने, जलविद्युतका लागि पीपीए ग्यारेन्टी गरिनुपर्ने र निजी क्षेत्रको प्रवद्र्धन गर्न मन्त्रालयबाटै सहजीकरणको पहल गर्नुपर्ने बताउनुभयो। आत्मनिर्भर उन्मुख गराउन र रोजगारीका अवसर सृजना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका स्थानीय उद्योग व्यवसायको प्रवर्द्धनका लागि सरकारले विशेष सहयोग र सहजीकरण गर्नुपर्ने वक्ताहरुको जोड थियो।