चीनको नानचिङबाट लगिएका साझाका बिजुली बस भोलिदेखि संचालन हुँदै
2022-07-07 14:42:54CRI
Share with:

साझा यातायातले पहिलो चरणमा ल्याएका तीन वटा बिजुली बस भोलि विहीबारदेखि काठमाडौंमा सञ्चालन हुने भएको छ। पहिलो चरणमा ल्याइएका बिजुली बस परीक्षण गरेर नम्बर प्लेट र रुट समेत समेत लिएर सञ्चालनमा ल्याउन लागिएको हो। विहीबार विहान ११ बजे साझाको पुल्चोकस्थित कार्यालयबाट ती बसहरुले औपचारिक रुपमा सेवा शुभारम्भ गर्नेछन् । यी बसमा महिला चालक र सहचलकको व्यवस्था गरिएको छ। 

चीनको नानचिङस्थित सीएचटीसीएचओ कम्पनीको विद्युतीय बसको कारखनामा यी बस तयार भएका हुन्। चीन मै ‘ग्रेडबिलिटी टेस्ट’ (उकालो तान्न सक्ने क्षमता) परीक्षण गरेपछि नेपालमा ल्याइएको थियो। अब बाँकी ३७ वटा पनि आउने साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले जानकारी दिनुभयो। उहाँका अनुसार सरकारी विशेषज्ञले परीक्षण गरेर अनुमति दिएकाले यी बसले काठमाडौंमा भरपर्दो सेवा दिने विश्वास व्यक्त गर्नुभयो। सीएचटीसीएचओसँग साझाले प्रति बस डेढ करोड रुपैयाँ मूल्यमा किनेको हो। 

यसपछि १२ मिटर लामा र अन्तरप्रदेश चल्ने विद्युतीय बसहरु पनि ल्याउने साझाको योजना छ। अहिले २५ सिट र सोभन्दा बढी क्षमताका विद्युतीय बस काठमाडौंमा आएका छन् । यी बसहरुमा वाइफाइ, टिभी डिस्प्ले, सीसी क्यामेरा लगायतका विशेषता छन् । अपांगहरु चढ्न मिल्ने र्‍याम्पसहितको सुविधा पनि छ। अनलाइनखबरका अनुसार क्रमैसँग आधुनिक सुविधासहितको विद्युतीय बसहरु थप्ने जाने साझाले जनाएको छ।

सरकारले ९ पुस ०७५ मा ३ सय वटा बिजुली बस सरकारी लगानीमा किन्ने निर्णय गरेको थियो। सरकारले साझालाई बसहरु किन्न आधारभूत मापदण्ड पनि दिएको थियो । साउन २०७६ मा यातायात मन्त्रालयले हतार-हतार साझालाई खेस्रा मापदण्ड दिएको थियो । स्पेसिफिकेसन बन्दै गर्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १ असोज २०७६ मा ‘बस किन्ने प्रक्रिया जहाँ पुगेको त्यहीं रोक्नू’ भन्दै पत्र काटेको थियो भने त्यसको चार महिनापछि माघ २०७६ मा साझाको खातामा पुगिसकेको ३ अर्ब रकम ब्याजसहित नै फिर्ता लिने निर्णय गरेको थियो । 

तर, माघ २०७७ मा सरकारले ३ अर्ब रुपैयाँ फेरि साझालाई नै दिने र बस किन्न अनुमति दिने निर्णय लिएको थियो । सरकारले रकम फिर्ता लगेपछि बाग्मती प्रदेश सरकारले ३० करोड, काठमाडौं महानगरपालिकाले १० करोड रकम पनि फिर्ता लिएका थिए । 

सरकारले बस किन्दा चलखेल हुन लागेको आशंका गरेर करिब डेढ वर्ष खेर फालिदिएको थियो । पछि सरकारले साझालाई नै पैसा फिर्ता गरिदिएको थियो। सरकारकै बहुमत सेयर रहेको साझा यातायात सहकारीसँग अहिले ७४ वटा ठूला बस छन् ।