गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको खर्च धान्न दैनिक पाँच उडान आवश्यक
2022-07-10 15:41:11CRI
Share with:

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु गरेको डेढ महिना बितिसक्दा एउटा मात्र विमान कम्पनीले मात्र उडान सञ्चालन गरिरहेको छ। हाल जजिरा एयरलाइन्सले सातामा तीन दिन सोमबार, बुधबार र शनिबार उडान गर्दै आएको छ । सोही कम्पनीले दैनिक रूपमा उडान सञ्चालन गर्नका लागि सबै प्रक्रिया पूरा गरेको छ भने ग्राउन्ड चार्ज निःशुल्क गर्न माग गरेको छ । जजिराबाहेक अन्य कुनै पनि कम्पनीले व्यावसायिक उडान सुरु गरेका छैनन् । 

गत जेठ २ गते बुद्ध पूर्णिमाको दिनदेखि यो विमानस्थलबाट व्यावसायिक उडान सुरु भएको थियो । हालसम्म एउटा मात्रै विमान सेवा कम्पनीले उडान गरिरहेका कारण विमानस्थल व्यवस्थापनमा खर्च धान्न सक्ने अवस्था अझै आइसकेको छैन । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालका अनुसार विमानस्थलको खर्च धान्न कम्तीमा दैजिक पाँचवटा उडानले सेवा सञ्चालन गर्नुपर्ने हुन्छ। 

तर विमानस्थल नयाँ रहेको र भर्खरै सञ्चालनमा आएका कारण अन्य वायुसेवा कम्पनीले पनि यहाँबाट उडान सुरु हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । विदेशी जहाज अवतरण गर्दा करिब दुई लाख ५० हजार रुपियाँ शुल्क बुझाउनुपर्नेमा अहिले एक लाख रुपियाँजति छुट दिएको पनि महाप्रबन्धक दाहालले बताउनुभयो । 

ग्राउन्ड हेन्डलिङबापत लिने यो शुल्कबाट १५ प्रतिशत गौतम बुद्ध विमानस्थललाई दिनुपर्छ । उहाँका अनुसार निकट भविष्यमा विज एयरका साथै साउदी अरेबियाको एयर अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई)को फ्लाई दुबईले पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गर्ने तयारी भइरहेको छ । उहाँले दशैँसम्म काठमाडौँकै हाराहारीमा यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुने अपेक्षा व्यक्त गर्नुभयो । 

अहिले काठमाडौँको तुलनामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भाडादर सस्तो भएपछि वैदेशिक रोजगारीमा जाने नेपाली युवाले पनि यही विमानस्थल रोज्ने गरेका छन् । काठमाडौँ–कुबेतको तुलनामा भैरहवा–कुबेतको हवाई भाडा प्रतियात्रु आठ हजार रुपियाँ सस्तो छ । 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकृष्ण साहका अनुसार विभिन्न वायुसेवा कम्पनीले उडानका लागि चासो देखाउँदै विमानस्थलले लिने विभिन्न शुल्कमा छुट मागेका छन् । नेपाल वायुसेवा निगमले भने अहिलेसम्म गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गर्ने विषयमा चासो देखाएको छैन । 

प्रवक्ता शाहका अनुसार निगमको विमान सङ्ख्या कम भएको र अहिले काठमाडौँबाटै अन्तर्राष्ट्रिय उडानको चाप बढी भएकाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न नसकिएको हो । नेपालको ध्वजावाहक विमानले अहिले विभिन्न देशमा सिधा उडान गरिरहेको छ । गोरखापत्र।