सिद्धबाबा सुरुङ निर्माण असोजबाट
2022-07-11 16:34:41cri
Share with:

सिद्धबाबा सुरुङमार्ग निर्माणको काम आगामी दसैंको आसपासबाट सुरु हुने भएको छ। सुरुङमार्ग निर्माणको लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले डिजाइन आगामी असोजमा बुझाउने र सो डिजाइन हेरेर स्वीकृत गरेपछि निर्माण कार्य सुरु हुने सडक विभागले जनाएको कारोबार अनलाइनले लेखेको छ।
विभागका महानिर्देशक अर्जुनजंग थापाले भन्नुभयो, “ईपीसी मोडलमा निर्माण गर्न सम्झौता भएको सो सुरुङमार्गमा निर्माण कम्पनीले तोकेको डिजाइ गरेर दिन्छ। हामीले हेरेर स्वीकृत गर्छौं अनि निर्माणको काम सुरु हुन्छ। हाम्रो अनुमानअनुसार सुरुङमार्गको निर्माण दसैंको आसपासमा सुरु हुनेछ।”
सुरुङ दुई लेनको र १२ सय मिटरको हुनेछ। ३ वटा आकस्मिक सुरुङमार्ग निर्माण हुनेछ। १ मुख्य र ३ वटा बाइपास सुरुङमार्ग निर्माण हुने सडक विभागले जनाएको छ। त्यसबाहेक माथि भएका बहन ढुंगाहरु हटाइने र त्यहाँ फलामे जाली प्रयोग गरेर रक सेड बनाउने महानिर्देशक थापाको भनाइ छ।
माथिबाट पहिरो आए पनि छाता आकारको पूर्वाधार निर्माण गरिने र पहिरो माथिबाट झरेर सिधा खोलामा जाने गरी रक सेड निर्माण हुने विभागले जनाएको छ। “दसैंको आसपासबाट पूर्ण रुपमा निर्माण कार्य सुरु हुन्छ,” महानिर्देशक थापाले भन्नुभयो। निर्माण हुने सुरुङमार्गबाट इन्धनको ढुवानी गर्न ट्रक तथा दुई पाङ्ग्रे सवारीसाधनलाई निषेध गरिने छ। २०७८ को फागुन अन्तिम साता चिनियाँ कम्पनीसँग आगामी ५ वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। हाल सो सुरुङमार्ग निर्माण गर्न कम्पनीले डिजाइनको काम गरिरहेको छ। सम्झौता अनुसार ९ महिनाभित्र चाइना स्टेट कन्स्ट्रक्सनले डिजाइन गरेर बुझाउने समय दिइएको छ।
कम्पनीले निर्माण गरिसकेपछि पनि ५ वर्षसम्म मर्मत तथा सञ्चालन गर्नु पर्नेछ। यसरी १० वर्ष उक्त परियोजना कम्पनीको प्रत्यक्ष निगरानीमा रहने छ। ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँको लागतमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी निर्माणको लागि छनोट भएको थियो। सिद्धार्थ राजमार्गमा निर्माण हुने १.१ किलोमिटरको उक्त सुरुङमार्ग निर्माणका लागि ९ कम्पनीको प्रस्ताव पेश भएकोमा ४ कम्पनी छनोटमा परेकोमा चाइना स्टेट कन्स्ट्रक्सनले कम कबोलमा निर्माणको जिम्मा पाएको थियो।