चैते धान भित्र्याउन चटारो
2022-07-11 16:37:48cri
Share with:

चैते धान रोपेका दाङका कृषकलाई यतिबेला धान काट्न भ्याइ नभ्याइ छ। जिल्लाका अधिकांश ठाउँमा धान रोपाईं भइरहँदा बंगलाचुली गाउँपालिका–४ डावरका किसानलाई भने चैते धान घरमा भित्र्याउन हतारो छ। खेतमा पाकेको धानलाई पानीले असर गर्ने भएपछि किसानलाई चैते धान घरमा भित्र्याउन हतार भएको कारोबार अनलाइनले लेखेको छ। बैशाखको पहिलो सातातिर रोपेको धान पाकेसँगै घरमा भित्र्याउन थालेको बंगलाचुली–४ डवार निवासी किसान रत्न थापाले बताउनु भएको छ। “बर्खे धान भएको भए एकै पटक काटेर विस्तारै दाउने हुन्थ्यो। तर चैते धान वर्षाको समय काट्न्पर्ने भएका कारण सकेर दाउने हुँदैन” उहाँले भन्नुभयो, “वर्षाको समयमा पानी पर्ने डर कारण धान काट्दै घरमा लगेर धान झाँट्ने गरेका छौं।” उहाँले यस वर्ष चैते धान राम्रो उत्पादन भएको बताउनुभयो। करिव ६ कठ्ठा खेतमा चैते धान रोपेका थापाले पुनः बर्खे धान रोपेर वर्षमा दुई बाली धान उत्पादन गर्दै आउनु भएको छ। अब उहाँ वर्षे धान रोप्ने तयारीमा जुट्नु भएको छ। त्यसैगरी बंगलाचुली गाउँपालिका–४ तल्लो गहतेरा निवासी रेश्मा गिरीलाई पनि खेतमा पाकेको चैते धान घरमा भित्र्याउन चटारो छ। चैते धान पाकेसँगै बर्खे धान रोप्नलाई ब्याड तयार हुन थालेपछि पाकेको धान काट्दै गरेको गिरीले बताउनुभयो। “खेतमा बैशाखमा रोपेको धान पाकिसकेको छ भने बर्खे सिजनका लागि ब्याड पनि तयार हुँदैछ” गिरीले भन्नुभयो, “त्यसैले अहिले पाकेको धान काट्दै गरेका छौ। अबको केही दिनमा रोपाईं हुन्छ।” उहाँका अनुसार असार महिनामा पानी परिरहने भएका कारण चैते धान घरमा भित्र्याउँदा भने समस्या हुने गरेको बताइन्। “बर्खाको समयमा पानी परिरहने भएका कारण पाकेको चैते धान स्याहार्न समस्या हुन्छ” उहाँले भन्नुभयो, “तर धान राम्रो उत्पादन हुने भएपछि गाउँका अधिकांशले खेती गर्दै आएका छन्।”

वर्खे धान जस्तो चैते धान नफल्ने भएपनि मौसम र पानी प्रशस्त भएको ठाउँमा राम्रो धान फल्ने गरेका कारण जिल्लाका धेरै ठाउँमा चैते धान खेती हुने गरेको छ। केही वर्ष अघिसम्म चैते धान रोप्ने किसानलाई सरकारले प्रोत्साहन स्वरुप बीउ निःशुल्क रुपमा दिने गरेपछि पछिल्लो समय दिन छोडेको किसानहरु बताउँछन्। जिल्लामा चैते धान बंगलाचुली गाउँपालिका वडा नं. ३ र ४ अन्तर्गत डवर, घोराही उपमहानगरपालिका वडा नं. १ को सुकाखोला र देउखुरीका विभिन्न ठाउँमा किसानले चैते धान रोप्ने गरेका छन्।
कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा दुई हजार पाँच सयभन्दा बढी हेक्टरमा चैते धान खेती हुने गर्छ। चैते धान रोपेका किसानले साउनको पहिलो सातासम्म पुनः बर्खे धान रोपेर वर्षमा दुई बाली धान उत्पादन गर्दै आएका छन्। जिल्लाको ३९ हजार ९ सय ५ हेक्टर खेती योग्य जमिनमध्ये ३५ हजार हेक्टर बढी जमिनमा धान खेती हुने गरेको छ। कृषि ज्ञान केन्द्रबाट आवश्यक प्राविधिक सहयोग र पालिकाबाट उन्नत जातको बिउ विजन उपलव्ध हुन सके यहाँको धान उत्पादनले जिल्लाको माग धान्न सकिने किसानहरुले बताएका छन्। उनीहरुले स्थानीय सरकारलाई समयमा मल बिउ उपलव्ध गराउन र आधुनिक कृषि प्रणालीमा किसानलाई जोड्न पनि आग्रह गरेका छन्।