तातोपानी नाका जोड्ने सडक क्षतिग्रस्त
2022-07-15 15:55:58cri
Share with:

अबिरल वर्षाका कारण सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ घट्टेखोलाको भीषण बाढीले तातोपानी नाका जोड्ने सडक क्षतिग्रस्त भएको छ। नेपाल–चीन तातोपानी नाका जोड्ने कोदारी लोकमार्गको विभिन्न खण्डमा सडक माथिबाट आएको बाढी र भेलले उक्त सडक क्षतिग्रस्त भएको गोरखापत्र अनलाइनले लेखेको छ।

भोटेकोशी गाउँपालिका–२ का वडा अध्यक्ष कुमार श्रेष्ठले सडकमाथिको मेराक भन्ने स्थानबाट आएको बाढीले सडक बगाएपछि यातायातका साधान पूर्णरुपमा रोकिएको जानकारी दिनुभयो। सडक बगाएपछि पैदल यात्रा समेत पूर्णरुपमा रोकिएको छ। बिरामी, सुत्केरीलाई अस्पताल पुर्याउन समस्या भएको छ। सडक खुलाउन सडक डिभिजन कार्यालयले वास्ता नगरेकोले वडा कार्यालय र पालिकाको प्रयासमा खुलाउने कार्य गरिने उहाँले जानकारी दिनुभयो।

सडक अवरुद्ध हुदाँ बाह्रबिसे र तातोपानी सडक सम्बन्ध टुटेको छ। क्षतिग्रस्त सडक खुलाउन बारे सडक डिभिजन कार्यालय चरिकोटले कुनै पनि जानकारी दिएको छैन।