चिनियाँ कम्पनीले निर्माण गरिरहेको मध्य तमोर जलविद्युत् आयोजनाको सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’
2022-07-16 15:47:08cri
Share with:

 

चिनियाँ कम्पनीले निर्माण गरिरहेको ताप्लेजुङ — ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजनाको सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ भएको छ। आयोजना प्रमुख मणि पोख्रेलका अनुसार शुक्रबार राति १०:३० बजेतिर सुरुङ जोडिएको हो। यो आयोजनाले ड्याम बन्ने मित्लुङ र पावर हाउस राखिने थुम्वा गरी दुईतिरवाट सुरुङ खन्दै आएको कान्तिपुर अनलाइनले लेखेको छ। 

ताप्लेजुङमा निर्माणाधीन सबैभन्दा ठूलो यो आयोजनाको लागत १२ अर्ब रुपैयाँ रहेको छ। ७५ प्रतिशत बैंक र २५ प्रतिशत स्वपुँजी रहने आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाएको छ। निर्माण कार्यमा भने अधिकांश नेपाली कामदार रहेका छन्। जलविद्यु्त् योजनाका लागि ३ हजार ३ सय ६७ मिटर लामो सुरुङ बनाइनेछ।

दुईवटा कम्पनीले आ–आफ्नो क्षेत्रबाट खनेको सुरुङ शुक्रबार राति जोडिएको पोख्रेलले जानकारी दिनुभयो। यहाँ ६ मिटर चौडाइ, ४ मिटर उचाइ र ३ हजार ३ सय ७० मिटर लम्बाइको सुरुङ निर्माण भइरहेको छ। सुरुङ जोडिएसँगै आयोजनाको ७१ प्रतिशत काम सकिएको सूचना अधिकारी करन गौतमले बताउनुभयो। गौतमका अनुसार हेडवर्क्सको काम ८० प्रतिशत सकिएको छ। सुरुङको काम पनि ६६ प्रतिशत पूरा भएका आयोजनाले जनाएको छ।

मित्लुङको माथिल्लो क्षेत्रमा ५० मिटर लम्बाइ र ११ मिटर उचाइको बाँध बनाएर साइड इन्टेकमार्फत पानी फाल्ने क्षेत्रमा पठाउने, त्यहाँबाट एक सय मिटर लम्बाइ र १३ मिटर चौडाइका ३ वटा भूमिगत च्याम्बर बनाई बालुवा थिग्र्याउने ठाउँमा पुर्‍याइनेछ। बालुवा तथा लेदो भने तमोर नदीमै फालिन्छ। मिक्लाखोला गाउँपालिकाको खोक्लिङ रहने उत्पादनगृहमा प्रस्तावित विद्युतगृहमा जडित १८.२५ मेगावाट क्षमताका ४ वटा टर्बाइनमा खसाली जेनेरेटिङ युनिटमार्फत उत्पादन गरिनेछ। यहाँबाट निस्किएको पानीलाइ ७५ मिटर लामो निकास नहरमार्फत तमोर नदीमै खसालिनेछ।

सानिमा मिडिल तमोर हाइड्रो पावर लिमिटेडले उत्पादन गर्ने आयोजना ५४ बाट १९ मेगावाट बढाएर ७३ मेगावाट बनाइएको हो। २०७३ असारमा फक्तालुङ गाउँपालिका २ सावादिनको नाक्लाभीर झरेर बनेको तालले उचाइ बढाएसँगै उत्पादन क्षमता पनि बढेको हो। ताल फुटेपछि आयोजनाले गरेको अध्ययनले नदीको सतह पहिले भन्दा १२ मिटर माथि उठेको पुष्टि भएको थियो।

लिमिटेडका वातावरणविद् अर्विन्द्र श्रेष्ठका अनुसार हेडबक्स साबिकको स्थानभन्दा १२ सय मिटर माथिको तटीय क्षेत्र र विद्युतगृह एक हजार मिटर तलको थुम्वाबेँसीमा सारिएको छ। यसअघि लोरिनदिनमा हेडवर्क्स र थुम्वाभन्दा माथिल्लो क्षेत्रमा उत्पादनगृह राख्ने तयारी भएको थियो। अब यसको बहाव ७३.७१ घनमिटर प्रतिसेकेन्ड हुने भएको छ।