काठमाडौंको फोहोर कुहिने र नकुहिने वर्गीकरण गरेर मात्र लगिने
2022-07-17 16:42:06cri
Share with:

साउन १ गतेदेखि काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा कुहिने र नकुहिने फोहोर अलग अलग छुट्याएर लाने भएको छ। महानगरले स्थानीयबासीसँग गरेको सहमति अनुसार फोहोर वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्ने भएको नेपाल भ्युज अनलाइनले लेखेको छ।
काठमाडौंको फोहोर फाल्ने गरिएको ल्याण्डफिल साइट बञ्चरेडाँडा वरपरका बासिन्दाले आन्दोलन गरेपछि वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्न महानगरले पहल थालेको हो।

महानगरपालिकाले कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसाउनेलाई १ साउनदेखि कारबाही गर्नेछ। यसबारे महानगरले ९ असारमै सूचना जारी गरिसकेको छ। फोहोर छुट्याएर नराख्नेलाई ५ सय जरिवाना हुनेछ। फोहोर संकलनका क्रममा फोहोर कुहिने र नकुहिने भन नछुट्याए हरेक पटक जरिवाना गरिने महानगरपालिकाको चेतावनी छ। फोहोर छुट्याउने जिम्मेवारी जसले फोहोर उत्पादन गर्छ उसकै भएकोले यस्तो निर्णय गरिएको महानगरपालिकाको भनाइ छ।

महानगरपालिकाले आज १ साउनभन्दा अघि थुप्रिएको फोहोर नै व्यवस्थापन गरेर सकेको छैन। जुन फोहोर कुहिने र नकुहिने भनी वर्गीकरण गरिएकै छैन। महानगरका अनुसार केही स्थानमा अझै फोहोरहरू उठ्न सकेको छैन। ती कतिपय फोहोर व्यवस्थापन गर्ने जिम्मा पाएका निजी कम्पनीको आन्तरिक समस्याको कारण रोकिएको छ। केही बञ्चरेडाँडा जाने बाटो अवरुद्ध हुँदा रोकिएका छन्। २६ जेठको राति बञ्चरेडाँडामा आन्दोलनरत पक्षसँग भएको छलफल अनुसार सहमति पालना हुनुपर्ने स्थानीयको अडान छ। स्थानीय जनप्रतिनिधि, महानगर र शहरीविकास मन्त्रालयको छलफलपछि सो सहमति भएको थियो। निर्णयको कार्यान्वयन साउन ५ गतेसम्ममा कुर्ने बञ्चरेडाँडा ल्याण्डफिल साइट सरोकार समितिका संयोजक श्रीराम ढुङ्गाना बताउनुहुन्छ।