वैदेशिक रोजगारका लागि निःशुल्क भिसा र टिकट कार्यान्वयन गर्ने प्रतिबद्धता
2022-07-18 15:32:27cri
Share with:

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले लागू गरेको निःशुल्क भिसा र टिकटको नीतिलाई कडाइका साथ कार्यान्वयन गर्ने बताउनुभएको छ । वैदेशिक रोजगार पत्रकार समूहसँग आइतबार मन्त्रालयमा भएको भेटमा मन्त्री कुँवरले विगतमा जे भए पनि अब यसलाई कडाइका साथ कार्यान्वयन गर्ने बताउनुभएको हो।

२०७२ सालदेखि नै सरकारले खाडी मुलुक र मलेसियाका लागि निःशुल्क भिसा र टिकटको व्यवस्था लागू गरेको भए पनि श्रमिकले ती देश जाँदा औसतमा एक लाख २० हजार रुपियाँ तिरेर जाने गरेको विभिन्न अध्ययनले देखाएको छ । उक्त नीति तत्कालीन श्रममन्त्री टेकबहादुर गुरुङले लागू गर्नुभएको हो।

 

त्यसपछि श्रम मन्त्रालयको जिम्मेवारीमा धेरै मन्त्री आए पनि त्यसको कार्यान्वयनमा कसैको ध्यान गएन । नवनियुक्त श्रममन्त्री कुँवरले स्वदेशमा रोजगारी नपाएर बाध्यतात्मक रूपमा वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने सरकारको नीति भए पनि तत्काल यसलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले निजी क्षेत्रमा लागू गरिरहेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई सरकारी निकायका करार सेवामा कार्यरत कर्मचारीलाई पनि समेट्नुपर्छ भनेर काम गरिरहेको जानकारी दिनुभयो । सरकारी निकायमा स्थायी सेवामा रहेकाले सञ्चयकोष र नागरिक लगानी कोषबाट सेवा सुविधा पाउने तर तिनै निकायमा करार सेवामा रहेका कर्मचारी वर्षौं सेवा गरेर रित्तो हात फर्किनुपर्ने अवस्था रहेको श्रममन्त्री कुँवरले भन्नुभयो। गोरखापत्र।